बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले न्युजिल्यान्डसहित ६ देशका लागि खटाइएका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। अस्ट्रेलियाका लागि नियुक्त नेपाली राजदूतले न्युजिल्यान्डको जिम्मेवारीसमेत सम्हाल्दै आएको सन्दर्भमा यो निर्णय न्युजिल्यान्डसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन कांग्रेस–एमाले गठबन्धन सरकारले भागबण्डाका आधारमा नियुक्त गरेका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। फिर्ता बोलाइएका राजदूतमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।
परराष्ट्र मन्त्रालयले सोमबार नै पत्र पठाएर ती राजदूतलाई एक महिनाभित्र नेपाल फर्किन निर्देशन दिएको बताइएको छ। सरकारको यो निर्णयसँगै भारत, अस्ट्रेलिया/न्युजिल्यान्ड, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकास्थित नेपाली नियोगमा नेतृत्व परिवर्तनको प्रक्रिया सुरु भएको छ।
यी राजदूतहरू तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राजनीतिक भागबण्डाको आधारमा सिफारिस भई नियुक्त भएका थिए। पछिल्लो निर्णयलाई वर्तमान सरकारले अघिल्लो सरकारद्वारा नियुक्त राजनीतिक राजदूतहरूलाई फिर्ता बोलाउने कदमका रूपमा हेरिएको छ। यससँगै नेपालका विभिन्न देशस्थित कूटनीतिक नियोगमा रिक्तता बढ्ने अवस्था देखिएको छ।


