न्युजिल्याण्डमा सार्वजनिक गरिएको पछिल्लो सर्वेक्षणले आगामी आम निर्वाचनमा न्युजिल्याण्ड फर्स्ट पार्टी निर्णायक शक्ति बन्न सक्ने संकेत देखाएको छ। करदाताहरूको सङ्घ–कुरिया अनुसन्धानद्वारा गरिएको सर्वेक्षणअनुसार सरकार पक्षका दलहरूको समर्थन बढ्दा विपक्षी दलहरूको समर्थन घटेको देखिएको हो।
सर्वेक्षणअनुसार नेशनल पार्टी १ दशमलव ४ प्रतिशतले बढेर २९ दशमलव ८ प्रतिशत पुगेको छ भने न्युजिल्याण्ड फर्स्ट पार्टी ३ दशमलव ९ प्रतिशतले बढ्दै १३ दशमलव ६ प्रतिशतमा पुगेको छ। त्यस्तै एसीटी पार्टी पनि १ दशमलव ५ प्रतिशतले बढेर ९ प्रतिशतमा पुगेको छ। न्युजिल्याण्ड फर्स्ट पार्टीको यो समर्थन सन् २०२१ नोभेम्बरपछि कै उच्च स्तर भएको बताइएको छ।
विपक्षतर्फ भने लेबर पार्टी १ प्रतिशतले घटेर ३३ दशमलव ४ प्रतिशतमा झरेको छ। ग्रीन पार्टी २ दशमलव ७ प्रतिशतले घटेर ७ दशमलव ८ प्रतिशतमा पुगेको छ भने ते पाटी माओरी पनि ० दशमलव ६ प्रतिशतले घट्दै २ दशमलव ६ प्रतिशतमा सीमित भएको छ।
सिट प्रक्षेपणअनुसार नेशनल पार्टीले ३७ सिट, न्युजिल्याण्ड फर्स्ट पार्टीले १७ सिट र एसीटी पार्टीले ११ सिट जित्ने देखिएको छ। यसरी सरकार पक्षको कुल सिट संख्या ६५ पुग्ने अनुमान गरिएको छ, जुन सरकार गठनका लागि पर्याप्त मानिन्छ। विपक्षी पक्ष भने ५५ सिटमा सीमित हुने देखिएको छ।
सर्वेक्षणका प्रवक्ता टोरे रिल्फका अनुसार न्युजिल्याण्ड फर्स्ट पार्टीको ऐतिहासिक समर्थन वृद्धि र नेशनल तथा एसीटी पार्टीको बढ्दो समर्थनका कारण सरकार पक्ष बलियो बन्दै गएको छ। तर उनले अन्तिम रूपमा सरकार गठन गर्ने निर्णय न्युजिल्याण्ड फर्स्ट पार्टीको भूमिकामा निर्भर रहने पनि स्पष्ट पारे।
पछिल्ला विभिन्न सर्वेक्षणहरूले दायाँ पक्ष (नेशनल, एसीटी, न्युजिल्याण्ड फर्स्ट) र बायाँ पक्ष (लेबर, ग्रीन, ते पाटी माओरी) बीच प्रतिस्पर्धा निकै कडा रहेको देखाएका छन्। आगामी आम निर्वाचन नोभेम्बर ७ मा हुने तय गरिएको छ।
उक्त सर्वेक्षण कुरिया बजार अनुसन्धान संस्थाले १ हजार वयस्क न्युजिल्याण्डवासीमा टेलिफोन र अनलाइन माध्यमबाट गरेको हो, जसको त्रुटि सीमा प्लस–माइनस ३ दशमलव १ प्रतिशत रहेको बताइएको छ। विशेषज्ञहरूका अनुसार यस्ता सर्वेक्षणहरूले मतदाताको प्रवृत्ति देखाउने भए पनि अन्तिम परिणामको ठ्याक्कै भविष्यवाणी भने गर्न सक्दैनन्।


