न्युजिल्याण्ड सरकारका नयाँ मन्त्रीहरूले वेलिङ्टनस्थित गभर्मेन्ट हाउसमा शपथ ग्रहण गरेका छन्। हालै गरिएको मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नेशनल पार्टीका पहिलो कार्यकालका सांसद क्यामेरोन ब्रुअर र माइक बटरिकलाई क्याबिनेट बाहिरका मन्त्रीका रूपमा नियुक्त गरिएको हो।
अपर हार्बर क्षेत्रका सांसद ब्रुअरलाई वाणिज्य तथा उपभोक्ता मामिला मन्त्री, साना व्यवसाय तथा उत्पादन मन्त्री र सहायक आप्रवासन मन्त्रीको जिम्मेवारी दिइएको छ। उनी हालसम्म वित्त तथा व्यय समितिको सभापति रहेका थिए, जुन भविष्यका मन्त्रीहरूको तयारीस्थलका रूपमा पनि हेरिन्छ।
यस कार्यकालमा ब्रुअर न्याय समितिका सदस्य तथा शासन र प्रशासन समितिका उपसभापति समेत रहेका थिए। उनको अनुभव र सक्रिय भूमिकालाई ध्यानमा राख्दै कार्यकारी जिम्मेवारी दिइएको बताइएको छ।
त्यसैगरी वाइरारापा क्षेत्रका सांसद माइक बटरिकलाई भूमि सूचना मन्त्री तथा सहायक कृषि मन्त्री नियुक्त गरिएको छ। उनले वातावरण समितिको उपसभापति, शिक्षा समितिका सदस्य तथा हालै प्राथमिक उत्पादन समितिका सदस्यका रूपमा काम गरेका थिए।
ब्रुअर र बटरिकको मन्त्री पदमा प्रवेश गत साता गरिएको मन्त्रिपरिषद् पुनर्गठनको हिस्सा हो। पूर्व मन्त्री जुडिथ कोलिन्स र डा. शेन रेटीको राजनीतिक अवकाशपछि उक्त पुनर्गठन गरिएको हो।
यस क्रममा क्रिस पेंक र पेनी सिमोन्ड्स क्याबिनेटमा प्रवेश गरेसँगै क्याबिनेट बाहिरका मन्त्रीका लागि दुई स्थान खाली भएको थियो, जसमा ब्रुअर र बटरिकलाई नियुक्त गरिएको हो।


