आजै रातिबाट न्युजिल्याण्ड प्रवेश गर्दै चक्रवात ‘भायानु’, भारी वर्षा र भिषण हावाहुरीको चेतावनी

186 Shares

न्युजिल्याण्डतर्फ शनिबार रातिदेखि नै चक्रवात ‘भायानु’ अघि बढ्दै आउने भएको छ, जसले नर्थ आईल्याण्डका विभिन्न क्षेत्रमा भारी वर्षा र शक्तिशाली हावाहुरी ल्याउने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले यसलाई बहु–जोखिमयुक्त तथा ज्यान जोखिममा पार्न सक्ने घटना भएको चेतावनी दिएका छन्।

नर्थल्यान्ड क्षेत्रमा शनिबार रातिदेखि ‘अरेन्ज स्तरको भारी वर्षा चेतावनी’ लागू गरिएको छ, जसमा बे अफ आइल्यान्ड्सदेखि होकियाङ्गा हार्बरसम्मका क्षेत्र समेटिएका छन्। साथै अकल्याण्ड, ग्रेट ब्यारेयर टापु, कोरोमण्डल प्रायद्वीप, व्हाकाटाने पश्चिमको बे अफ प्लेन्टी (रोतोरोआसहित) र गिस्बोर्न/तैराव्हिटीको टोलागा बे उत्तरतर्फका क्षेत्रहरूमा पनि अरेन्ज चेतावनी जारी गरिएको छ।

यससँगै नर्थल्यान्ड र अकल्याण्डमा शनिबार रातिदेखि शक्तिशाली हावाहुरीको चेतावनी पनि लागू हुने भएको छ। विशेषगरी कोरोमण्डल प्रायद्वीपमा आइतबार बिहानदेखि ‘रेड स्तरको हावाहुरी चेतावनी’ र ‘अरेन्ज स्तरको भारी वर्षा चेतावनी’ जारी गरिएको छ।

मौसम विभागका अनुसार चक्रवातसँगै आउने तीव्र हावा, भारी वर्षा र समुद्री छालको प्रभाव (कोस्टल इनन्डेशन) का कारण विद्युत् अवरोध, रूख ढल्ने, बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिम उच्च रहेको छ, जसले केही समुदायहरूलाई अलग पार्न सक्ने सम्भावना छ।

सर्वसाधारणलाई पछिल्लो मौसम अपडेटमा ध्यान दिन, आवश्यक परे योजनामा परिवर्तन गर्न र स्थानीय निकायको निर्देशनअनुसार तयारी अवस्थामा रहन आग्रह गरिएको छ। साथै, केही क्षेत्रमा हाल जारी गरिएको भारी वर्षा ‘वाच’लाई चक्रवात नजिकिँदै जाँदा अरेन्ज वा सम्भवतः रेड स्तरमा स्तरोन्नति गरिन सक्ने चेतावनी पनि दिइएको छ।

सम्बन्धित समाचार

सबै