चक्रवात ‘भायानु’: नर्थ आईल्याण्डका विभिन्न क्षेत्रमा आपतकाल घोषणा – New Zealand News Nepal (NZ News Nepal)

चक्रवात ‘भायानु’: नर्थ आईल्याण्डका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

   April 11, 2026  

न्युजिल्याण्डको नर्थ आईल्याण्डतर्फ चक्रवात ‘भायानु’ तीव्र रूपमा अघि बढ्दै जाँदा नर्थल्यान्ड, वाइकाटो र फाकताने जिल्लामा पूर्वतयारीस्वरूप स्थानीय आपतकाल घोषणा गरिएको छ। जोखिम बढ्दै गएपछि फाकताने जिल्लाको ओहोपे (Ōhope) को वेस्ट एन्ड क्षेत्रका घरहरूलाई साँझ ५ बजेसम्म खाली गर्न आदेश दिइएको छ।

हाल पूरै नर्थ आईल्याण्ड कुनै न कुनै मौसम चेतावनीमा रहेको छ भने कोरोमण्डल प्रायद्वीप र ग्रेट ब्यारेयर टापुमा ‘रेड स्तरको शक्तिशाली हावा चेतावनी’ जारी गरिएको छ। हावाहुरीको गति १३० किमि/घण्टासम्म पुग्ने अनुमान गरिएको छ।

मौसम सेवाका अनुसार:

  • रेड स्तरको हावाहुरी चेतावनी कोरोमण्डल र ग्रेट ब्यारेयर टापुमा शनिबार राति १० बजेदेखि आइतबार साँझ ६ बजेसम्म लागू हुनेछ।
  • अरेन्ज स्तरको हावाहुरी चेतावनी नर्थल्यान्ड, अकल्याण्ड, वाइकाटो, बे अफ प्लेन्टी, गिस्बोर्न, हक्‍स बे लगायत धेरै क्षेत्रमा विभिन्न समयावधिमा लागू गरिएको छ।

त्यस्तै,

  • अरेन्ज स्तरको भारी वर्षा चेतावनी नर्थल्यान्ड, अकल्याण्ड, कोरोमण्डल, रोतोरोआ, गिस्बोर्न लगायतका क्षेत्रमा जारी गरिएको छ।
  • अन्य धेरै क्षेत्रमा भारी वर्षा र हावाहुरी ‘वाच’ (Watch) पनि लागू गरिएको छ, जसलाई आवश्यकता अनुसार चेतावनीमा स्तरोन्नति गर्न सकिनेछ।

अधिकारिहरूका अनुसार चक्रवातका कारण विद्युत् अवरुद्ध, रूख ढल्ने, बाढी, पहिरो र सडक बन्द हुने जोखिम उच्च रहेको छ, जसले केही समुदायलाई अलग पार्न सक्छ।

सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान, आपतकालीन सामग्री तयारी अवस्थामा राख्न, यात्रा योजना पुनःविचार गर्न र स्थानीय निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।