‘नेपथ्य’ ले सुरु गर्‍यो क्यानडा टूर , अर्को महिना न्युजिल्याण्ड आउने – New Zealand News Nepal (NZ News Nepal)

‘नेपथ्य’ ले सुरु गर्‍यो क्यानडा टूर , अर्को महिना न्युजिल्याण्ड आउने

   April 14, 2026  

प्रसिद्ध नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ ले यस वर्षको क्यानडा सांगीतिक यात्रा सुरु गरेको छ। ब्यान्डले शुक्रबार क्यानडाको सदबरी कम्युनिटी एरेना मा पहिलो प्रस्तुति दिँदै दर्शकलाई नेपाली लोकरकको स्वाद चखाएको हो। क्यानडाको ओन्टारियो प्रान्तस्थित सदबरीमा नेपाली समुदायको उल्लेख्य उपस्थिति बीच सम्पन्न कन्सर्टमा नेपालप्रतिको माया, सम्झना र सांगीतिक उत्साह झल्किएको थियो।

कन्सर्टका क्रममा गायक अमृत गुरुङ ले ब्यान्डका लोकप्रिय गीतसँगै राष्ट्रिय भावना बोकेका र नेपालका प्राकृतिक सौन्दर्य झल्काउने गीतहरू प्रस्तुत गरेका थिए। गीतमार्फत उनले दर्शकलाई नेपाल जाँदा पदयात्रामा निस्कन प्रोत्साहित गर्नुका साथै, देशका धेरै बालबालिका अझै शिक्षाबाट वञ्चित रहेक स्मरण गराउँदै आफ्ना गाउँठाउँमा रहेका यस्ता बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सक्दो सहयोग गर्न पनि आग्रह गरे।

कार्यक्रममा नेपाली दर्शकसँगै गैरनेपाली समुदायको पनि उपस्थिति देखिएको थियो।

मञ्चमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी ले साथ दिएका थिए। आयोजक समिति सदस्य नदिश बस्नेत का अनुसार, सदबरीजस्तो कम नेपाली बसोबास भएको क्षेत्रमा नेपथ्यले कन्सर्ट गर्छ भन्नेमा धेरैलाई अन्तिमसम्म विश्वास नै लागेको थिएन। सदबरीमा पहिलो कन्सर्ट सफलतापूर्वक सम्पन्न गरेपछि अब नेपथ्यको दोस्रो प्रस्तुति टोरन्टोको क्विन एलिजाबेथ थिएटर मा र त्यसपछि अन्तिम कन्सर्ट लन्डन मा हुनेछ। टोरन्टोको शो कार्यक्रम हुनुअघि नै ‘सोल्ड आउट’ भइसकेको जनाइएको छ।

ब्यान्ड अर्को महिना न्युजिल्याण्ड आउने तयारीमा रहेको छ। न्युजिल्याण्ड्को अकल्याण्ड मा आगामी मे १ तारिकमा कन्सर्ट आयोजना हुदै छ ।