नर्थ र साउथ आईल्याण्ड जोड्ने स्थायी संरचना किन छैन ? पुल र सुरुङ कती सम्भव ?

168 Shares

न्युजिल्याण्डका दुई मुख्य आईल्याण्ड- नर्थ आईल्याण्ड र साउथ आईल्याण्ड बीच प्रत्यक्ष सडक वा रेलमार्गको स्थायी संरचना नहुँदा धेरैलाई जिज्ञासा लाग्ने गरेको छ। यी दुई टापुबीच रहेको कुक स्ट्रेट समुद्री क्षेत्रले देशको भौगोलिक संरचनालाई विभाजन गरेको छ, जसका कारण हालसम्म पुल वा सुरुङ निर्माण सम्भव हुन सकेको छैन।

हालका लागि नर्थ आईल्याण्ड र साउथ आईल्याण्डबीचको मुख्य सम्पर्क माध्यम फेरी सेवा हो, जसले वेलिङ्टन र पिक्टनलाई जोड्दछ। करिब साढे तीन घण्टाको यात्रामा सवारीसाधनसहित यात्रुहरू ओहोरदोहोर गर्न सक्छन्। यस्तै, हवाई सेवा पनि लोकप्रिय विकल्प हो, जहाँ वेलिङ्टनबाट नेल्सन, ब्लेनहेम वा क्राइस्टचर्चसम्मको यात्रा आधा घण्टाभित्र पूरा हुन्छ। यद्यपि, फेरी सेवा मौसममा निर्भर रहने र हवाई यात्रा महँगो हुनेजस्ता चुनौतीहरू अझै कायम छन्।

विशेषज्ञहरूका अनुसार कुक स्ट्रेटमा पुल निर्माण अत्यन्तै कठिन छ। उक्त समुद्री क्षेत्र करिब ३० किलोमिटर चौडा र २०० मिटरभन्दा बढी गहिरो छ। त्यसमाथि, तीव्र हावा, ठूलो छाल र अस्थिर मौसमका कारण पुलको दीर्घकालीन स्थायित्वमा प्रश्न उठ्छ। न्युजिल्याण्ड भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्ने भएकाले यस्तो संरचना अझै जोखिमपूर्ण हुने देखिन्छ।

सुरुङ निर्माण भने सैद्धान्तिक रूपमा सम्भव मानिए पनि यसको लागत अत्यन्तै उच्च हुने अनुमान गरिएको छ। प्रारम्भिक अध्ययनहरूले यस्तो परियोजनाको लागत करिब ५० अर्ब न्युजिल्याण्ड डलर पुग्न सक्ने देखाएका छन्, जुन न्युजिल्याण्डको जनसंख्या र आर्थिक अवस्थालाई हेर्दा व्यवहारिक नहुन सक्छ।

यसैकारण, हालका लागि न्युजिल्याण्डले फेरी र हवाई सेवामार्फत नै दुबै टापुबीचको सम्पर्क कायम राखेको छ। भविष्यमा प्रविधि र आर्थिक अवस्था अनुकूल भएमा मात्र स्थायी संरचना निर्माणबारे गम्भीर रूपमा सोचिने सम्भावना रहेको विज्ञहरू बताउँछन्।

सम्बन्धित समाचार

सबै