नेपाली समुदाय न्युजिल्याण्डको महत्वपूर्ण र सम्मानित हिस्सा: प्रधानमन्त्री लक्सन – New Zealand News Nepal (NZ News Nepal)

नेपाली समुदाय न्युजिल्याण्डको महत्वपूर्ण र सम्मानित हिस्सा: प्रधानमन्त्री लक्सन

   April 16, 2026  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपाली समुदायलाई न्युजिल्याण्डको महत्वपूर्ण र सम्मानित हिस्सा भएको बताएका छन्। उनले नेपाल फेस्टिभलको अवसरमा दिएको शुभकामना सन्देशमार्फत नेपाली समुदायको योगदानप्रति आभार व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले नेपाल फेस्टिभल जस्ता सांस्कृतिक कार्यक्रमहरूले देशमा विविधता, एकता र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने उल्लेख गर्दै नेपाल फेस्टिभललाई नेपाली कला, संस्कृति र पहिचान झल्काउने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेका छन्। उनले विशेष गरी क्राइस्टचर्चमा आयोजना हुने कार्यक्रमले विभिन्न समुदायलाई एकै ठाउँमा ल्याएर आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे।

“किया ओरा, नमस्ते—क्राइस्टचर्चमा नेपाल फेस्टिभल मनाइरहनु भएका सबैलाई हार्दिक शुभकामना,” प्रधानमन्त्रीले भने। “म यही सहरमा हुर्किएको व्यक्ति भएकाले यस्ता कार्यक्रमहरू देख्दा निकै गर्व लाग्छ। यसले तपाईंहरूको समृद्ध संस्कृति प्रस्तुत गर्नुका साथै हाम्रो समाजलाई अझ सुन्दर र विविध बनाएको छ।”

उनले नेपाली समुदायले न्युजिल्याण्डको सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संगीत, स्वादिलो परिकार र बलियो सामुदायिक भावनाले फेस्टिभललाई विशेष बनाएको बताए।

प्रधानमन्त्रीले नेपाल फेस्टिभल सफल रहोस् भन्ने कामना गर्दै सबैलाई रमाइलो र उत्साहपूर्ण सहभागिताको शुभेच्छा व्यक्त गरेका छन्।