न्युजिल्याण्ड सरकारले सवारी साधनको वारन्ट अफ फिटनेस (WoF) सम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन ल्याउने घोषणा गरेको छ। यातायात मन्त्री क्रिस बिशपका अनुसार नयाँ व्यवस्था आगामी नोभेम्बर १ देखि लागू हुनेछ, जसअनुसार केही सवारी साधनका लागि निरीक्षणको आवृत्ति घटाइनेछ।
नयाँ नियम अनुसार, नोभेम्बर १ देखि चार वर्षदेखि १४ वर्षसम्मका हल्का सवारी साधन (३.५ टनभन्दा कम तौल भएका) जसको दर्ता नोभेम्बर १, २०१९ पछि गरिएको छ, तिनीहरूले अब हरेक वर्ष होइन, दुई वर्षमा एकपटक मात्र WoF गर्नुपर्नेछ। यस्तै, आगामी वर्षको नोभेम्बर १ देखि २०१३ पछि दर्ता भएका सोही समूहका सवारी साधनहरूमा पनि यही नियम लागू गरिनेछ।
त्यसैगरी, सन् २००० जनवरी १ भन्दा अघि दर्ता भएका सवारी साधन र मोटरसाइकलका लागि भने अहिलेको जस्तो ६/६ महिनामा निरीक्षण गर्नुपर्ने नियम हटाइँदै वर्षमा एकपटक मात्र WoF गर्नुपर्ने व्यवस्था लागू गरिनेछ। नयाँ सवारी साधनका लागि पहिलो WoF चार वर्षसम्म मान्य हुने पनि उल्लेख गरिएको छ।
भाडाका हल्का सवारी साधन (रेंटल कार) का लागि पनि CoF A निरीक्षण अब प्रत्येक ६ महिनामा होइन, वर्षमा एकपटक मात्र गर्नुपर्नेछ। साथै, नयाँ व्यवस्थामा आधुनिक प्रविधि अन्तर्गत पर्ने Advanced Driver Assistance Systems (ADAS) जस्ता सुविधाहरू पनि निरीक्षण दायरामा समेटिनेछन्।
यसका साथै, WoF उल्लंघनसम्बन्धी जरिवाना पनि कडाइका साथ बढाइने भएको छ। नियमविपरीत टायर वा पाङ्ग्रा प्रयोग गरेमा जरिवाना $150 बाट बढाएर क्रमशः $350 र $1000 सम्म पुर्याइएको छ। त्यस्तै, दुई महिनाभन्दा बढी समय WoF नवीकरण नगरी सवारी चलाउँदा लाग्ने जरिवाना $200 बाट बढाएर $350 बनाइएको छ।
मन्त्री बिशपले न्युजिल्याण्डमा अन्य देशहरू—जस्तै आयरल्याण्ड, जर्मनी, जापान र अष्ट्रेलियाको तुलनामा अत्यधिक बारम्बार निरीक्षण गर्ने व्यवस्था रहेको बताउँदै आधुनिक सवारी साधनहरू पहिलेभन्दा धेरै सुरक्षित भएकाले नियमहरू अद्यावधिक गर्न आवश्यक रहेको उल्लेख गरे। “हाम्रा नियमहरू समयअनुसार अद्यावधिक नभएकाले सवारी चालकहरूलाई अनावश्यक आर्थिक भार परेको थियो,” उनले भने।