निरन्तर वर्षासँगै तल्लो नर्थ आईल्याण्डका विभिन्न क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढेको छ भने नागरिकहरूलाई अत्यन्त सतर्क रहन आग्रह गरिएको छ। वेलिङ्टन क्षेत्रीय आपतकालीन व्यवस्थापन कार्यालयले आज दिउँसो थप खराब मौसम आउने चेतावनी दिएको छ।
भारी वर्षाका कारण धेरै प्रमुख सडकहरू बन्द गरिएका छन्। स्टेट हाइवे ५८ (पाउआतानुईदेखि हेवार्ड्स), स्टेट हाइवे ५९ (पारेमाटा देखि प्लिमर्टन) तथा स्टेट हाइवे २ को बेलमोन्टदेखि हेवार्ड्स इन्टरचेन्जसम्मको उत्तरतर्फको भाग पूर्ण रूपमा बन्द गरिएको छ। यसका साथै इस्टर्न हट रोड र पाएकारिकिकी हिल रोड पनि अवरुद्ध भएका छन्। अधिकारीहरूले अत्यावश्यक बाहेक सडकमा ननिस्कन आग्रह गरेका छन्।
प्राधिकरणले बासिन्दाहरूलाई आधिकारिक चेतावनीको प्रतीक्षा नगरी पानीको सतह बढ्न थालेमा तुरुन्तै सुरक्षित तथा अग्लो स्थानतर्फ सर्न सुझाव दिएको छ। पोरिरुआकी मेयर अनिता बेकरका अनुसार यो अवस्थाले गत साता नर्थ आईल्याण्डमा आएको ‘भायानु’ चक्रवातभन्दा पनि बढी असर पारेको छ।
लोअर हट क्षेत्रमा केही बासिन्दाहरूलाई घर छोड्न बाध्य बनाइएको छ भने फायर एण्ड इमर्जेन्सी न्युजिल्याण्ड (FENZ) ले पोरिरुआ र लोअर हटमा मात्रै करिब ३० वटा बाढीसम्बन्धी घटनामा प्रतिक्रिया जनाइसकेको जनाएको छ। आज बिहान तल्लो नर्थ आईल्याण्डका विभिन्न क्षेत्रमा मेघगर्जनसहितको आँधीको चेतावनी समेत जारी गरिएको छ।
मौसम विभागका अनुसार सक्रिय ट्रफ प्रणालीले शनिबार र आइतबारसम्म देशभर प्रभाव पार्नेछ, जसले अझै वर्षा र आँधीको जोखिम कायम रहने संकेत दिएको छ। अधिकारीहरूले सबैलाई सुरक्षित रहन, सूचना अपडेटहरू पालना गर्न र आवश्यक तयारी गर्न आग्रह गरेका छन्।


