न्युजिल्याण्डमा आजै चुनाव भएमा नेशनल पार्टी नेतृत्वको गठबन्धन सरकार बनाउन असमर्थ हुने देखिएको नयाँ सर्वेक्षणले संकेत गरेको छ। पछिल्लो १न्युज–भेरियन पोल अनुसार नेशनल पार्टीको समर्थन घट्दै जाँदा राजनीतिक दबाब बढेको छ।
सर्वेक्षण अनुसार नेशनल पार्टी ३० प्रतिशतमा झरेको छ, जुन क्रिस्टोफर लक्सन नेतृत्व सम्हालेपछि नोभेम्बर २०२१ यताकै सबैभन्दा कमजोर परिणाम हो। यद्यपि लकसनले आफूले पार्टीको समर्थन पाएको बताउँदै पद नछोड्ने स्पष्ट पारेका छन्।
उता लेबर पार्टी भने उल्लेख्य रूपमा उकालो लाग्दै ३७ प्रतिशतमा पुगेको छ, जसले सत्तामा फर्किने सम्भावना बलियो बनाएको विश्लेषण गरिएको छ। गठबन्धनका अन्य दलतर्फ हेर्दा न्युजिल्याण्ड फर्स्ट १० प्रतिशतमा स्थिर रहेको छ भने एक्ट पार्टी २ अंकले घट्दै ७ प्रतिशतमा पुगेको छ।
यो नतिजाले वर्तमान गठबन्धनले बहुमत जुटाउन कठिन हुने संकेत गरेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार नेशनल पार्टीले समर्थन गुमाउँदै जाँदा आगामी दिनमा नेतृत्व र रणनीतिमाथि थप दबाब बढ्न सक्ने देखिएको छ।


