न्युजिल्याण्ड र भारतबीच लामो समयदेखि प्रतिक्षामा रहेको स्वतन्त्र व्यापार सम्झौता आगामी साता औपचारिक रूपमा हस्ताक्षर हुने भएको छ। टोड म्याकक्लेले सम्झौताको कानुनी प्रमाणीकरण प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अप्रिल २७ मा नयाँ दिल्लीमा हस्ताक्षर हुने पुष्टि गरेका हुन्।
गत डिसेम्बरमा निष्कर्षमा पुगेको यो सम्झौताले न्युजिल्याण्डका निर्यातकर्तालाई करिब १.४ अर्ब जनसंख्या भएको विशाल भारतीय बजारमा सहज पहुँच दिनेछ। सरकारका अनुसार यो अवसर “एक पुस्तामा एकपटक आउने” महत्वपूर्ण व्यापारिक उपलब्धि मानिएको छ।
सम्झौताअनुसार न्युजिल्याण्डबाट भारत जाने करिब ९५ प्रतिशत निर्यातमा कर (ट्यारिफ) घटाइने वा हटाइने छ, जुन भारतसँग भएको अन्य सम्झौताहरूको तुलनामा निकै उच्च स्तरको सुविधा हो। सुरुवातमै भेडाको मासु, ऊन र वनसम्बन्धी धेरै उत्पादनहरू सहित ५० प्रतिशतभन्दा बढी वस्तु तुरुन्तै करमुक्त हुनेछन् भने क्रमशः यो हिस्सा बढेर ८२ प्रतिशत पुग्नेछ।
मन्त्री म्याक्लेले यस सम्झौताले भारतमा पहिले नै कम ट्यारिफको लाभ लिइरहेका अन्य देशसँग प्रतिस्पर्धा गर्न न्युजिल्याण्डका व्यवसायलाई समान अवसर दिने बताएका छन्। उनले भने, “यो सम्झौताले विश्वकै द्रुत गतिमा बढिरहेको अर्थतन्त्रमध्ये एकमा न्युजिल्याण्डका व्यवसायलाई बराबरी प्रतिस्पर्धा गर्ने वातावरण दिन्छ।”
सम्झौतामा हस्ताक्षर भएपछि यसले संसदीय प्रक्रिया सुरु गर्नेछ। सम्झौताको पूर्ण पाठ र राष्ट्रिय हित विश्लेषण संसदमा पेश गरिनेछ र चयन समितिले समीक्षा गर्नेछ। साथै, कुनै कानुन पारित गर्नु अघि सर्वसाधारणलाई पनि आफ्ना सुझाव पेश गर्ने अवसर प्रदान गरिनेछ।


