भारतीय बिरुद्द ‘घृणात्मक सन्देश’ लेखेको आरोपमा ६१ वर्षीय व्यक्ति पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

भारतीय बिरुद्द ‘घृणात्मक सन्देश’ लेखेको आरोपमा ६१ वर्षीय व्यक्ति पक्राउ

   April 20, 2026  

अकल्याण्डको पापाटोएटोए क्षेत्रमा रहेको एक विद्यालय बाहिर आपत्तिजनक ग्राफिटी लेखिएको घटनामा प्रहरीले ६१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। उक्त ग्राफिटीमा “Kill All Indian” जस्तो घृणात्मक सन्देश लेखिएको पाइएपछि प्रहरीले यसलाई घृणाप्रेरित अपराध को रूपमा अनुसन्धान गरेको थियो।

प्रहरीका अनुसार गत साता भरि गरिएको अनुसन्धानपछि स्थानीय एक व्यक्तिलाई बिहीबार बिहान पक्राउ गरिएको हो। काउन्टीज मानुकाउ वेस्ट क्षेत्र कमाण्डरले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो अनुसन्धान गरी पक्राउ गरिएको बताएका छन्।

पक्राउ परेका ६१ वर्षीय पापाटोएटोए निवासीलाई Summary Offences Act अन्तर्गत आपत्तिजनक व्यवहार र जानाजानी क्षति सम्बन्धी अभियोग लगाइएको छ। उनलाई आज मनुकाउ जिल्ला अदालतमा उपस्थित गराइने छ।

उक्त घटना अप्रिल ११ मा Papatoetoe Central School बाहिर भएको थियो, जहाँ ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका अध्ययन गर्छन्। घटनापछि विशेषगरी दक्षिण अकल्याण्डस्थित भारतीय समुदाय र विद्यार्थीहरूमा सुरक्षाबारे चिन्ता बढेको थियो।

इन्स्पेक्टर क्रिस्टोफरसनले समुदायमा त्रास फैलिएको स्वीकार गर्दै यो घटना एकल भएको र समुदायमा व्यापक जोखिम नरहेको मूल्याङ्कन गरिएको बताएका छन्। उनले अनुसन्धानबाट प्राप्त तथ्य र अभियुक्तसँगको सोधपुछका आधारमा यस्तो निष्कर्ष निकालिएको स्पष्ट पारे।

प्रहरीले अब यस विषयलाई अदालत प्रक्रियामार्फत अगाडि बढाइने जनाएको छ।