यस कारण रोचक हुने वाला छ न्युजिल्याण्डको आगामी आमनिर्वाचन – New Zealand News Nepal (NZ News Nepal)

यस कारण रोचक हुने वाला छ न्युजिल्याण्डको आगामी आमनिर्वाचन

   April 23, 2026  

न्युजिल्याण्डको आगामी आम निर्वाचन यसपटक झन् रोचक हुने देखिएको छ। कुन दलले सरकार बनाउने भन्ने मात्र होइन, कसले कसलाई साथ दिने भन्ने विषय नै निर्णायक बन्ने संकेत देखिएको छ। विगतका अनुभवले देखाएको छ कि यहाँ केवल धेरै सिट जित्नु मात्र पर्याप्त हुँदैन, गठबन्धन नै सरकार गठनको मुख्य आधार बन्ने गरेको छ।

सन् २०१७ मा नेशनल पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेन। त्यसबेला न्युजिल्याण्ड फर्स्टले लेबर पार्टीलाई साथ दिँदा लेबरले ग्रीन पार्टीसँग मिलेर सरकार गठन गरेको थियो, र जेसिन्डा आर्डर्न प्रधानमन्त्री बनेकी थिइन्। त्यसपछि सन् २०२० मा भने लेबर पार्टीले एकल बहुमत ल्याउँदै एक्लै सरकार बनाएको थियो।

तर सन् २०२३ मा राजनीतिक समीकरण फेरियो। न्युजिल्याण्ड फर्स्टले नेशनल पार्टीलाई साथ दिँदा नेशनल नेतृत्वमा सरकार बनेको थियो। अहिले पनि सोही दल सरकारमै भए पनि उसैले निरन्तर सरकारमाथि आरोप लगाइरहेको देखिन्छ, जसले आगामी निर्वाचनमा उसले कस्तो भूमिका खेल्ने भन्ने विषयलाई अझ चासोको केन्द्रमा ल्याएको छ।

आगामी निर्वाचनमा लेबर पार्टीले धेरै सिट जित्ने अनुमान गरिए पनि उसलाई सरकार बनाउन ग्रीन र माओरी पार्टीको साथ अनिवार्य देखिन्छ। यद्यपि, नेशनल, न्युजिल्याण्ड फर्स्ट र एसीटी पार्टीले संयुक्त रूपमा बढी सिट ल्याए भने नेशनलले पुनः सरकार गठन गर्ने सम्भावना बलियो रहनेछ।

यसबीच, विन्स्टन पिटर्स नेतृत्वको न्युजिल्याण्ड फर्स्टले राम्रो सिट ल्याउने अनुमानले चुनावी प्रतिस्पर्धालाई झन् पेचिलो बनाएको छ। यही कारणले, यसपटकको न्युजिल्याण्ड आम निर्वाचन केवल सिटको प्रतिस्पर्धा मात्र नभई सत्ता समीकरणको खेलका रूपमा अत्यन्तै रोचक हुने निश्चित देखिन्छ।