इन्धन सङ्कटबीच क्षेत्रीय एयरलाइन्सलाई आर्थिक सहयोग दिने न्युजिल्याण्ड सरकारको घोषणा – New Zealand News Nepal (NZ News Nepal)

इन्धन सङ्कटबीच क्षेत्रीय एयरलाइन्सलाई आर्थिक सहयोग दिने न्युजिल्याण्ड सरकारको घोषणा

   April 24, 2026  

न्युजिल्याण्ड सरकारले इन्धन सङ्कटका बीच थप तीनवटा क्षेत्रीय एयरलाइन्सलाई ‘Regional Investment Funding’ अन्तर्गत ऋण उपलब्ध गराउने घोषणा गरेको छ। यससँगै सरकारले ऋणका सर्तहरू केही लचक बनाउन सकिने संकेत पनि दिएको छ।

क्षेत्रीय विकास मन्त्री शेन जोन्स र सहायक यातायात मन्त्री जेम्स मीगर ले संयुक्त रूपमा एयर चाथम्स लाई १७.२ मिलियन डलर, साउन्ड्स एयर लाई ४.५ मिलियन डलर तथा आइल्यान्ड एयर लाई २ लाख ५२ हजार डलर ऋण दिने घोषणा गरेका हुन्। साउन्ड्स एयरले वेलिङ्टन, कापिटी, पिक्टन र नेल्सन बीच उडान सञ्चालन गर्दै आएको छ भने आइल्यान्ड एयरले टौराङ्गा–मोटिटी टापु रुटमा सेवा दिँदै आएको छ।

यसअघि फेब्रुअरीमा गोल्डेन बे एयर लाई १.१ मिलियन डलर ऋण प्रदान गरिएको थियो। सरकारले छुट्याएको कुल कोषमध्ये अझै करिब ७ मिलियन डलर बाँकी रहेको जनाइएको छ।

मन्त्री जोन्सका अनुसार यो आर्थिक सहयोगले एयरलाइन्सहरूलाई ऋण व्यवस्थापन, जहाजहरूको मर्मत तथा सञ्चालन निरन्तरता कायम राख्न सहयोग पुर्‍याउनेछ। “क्षेत्रीय एयरलाइन्सका लागि अहिलेको व्यावसायिक वातावरण झन् चुनौतीपूर्ण बन्दै गएको छ र भविष्यबारे अनिश्चितता बढेको छ,” उनले बताए।

उनले थपे, “हामीले क्षेत्रीय सञ्चालकहरूको चिन्ता सुनेका छौँ र प्रतिकूल अवस्थामा उनीहरूलाई दायित्व पूरा गर्न सहज होस् भनेर ऋणका सर्त अस्थायी रूपमा परिवर्तन गर्ने सम्भावनाबारे अधिकारीहरूसँग सुझाव मागेका छौँ।”

सहायक मन्त्री मीगरका अनुसार विशेषगरी चाथम टापुहरू जस्ता स्थानका लागि क्षेत्रीय एयरलाइन्स नै मुख्य भूमि सँगको एकमात्र यातायात माध्यम हुन्। “यी उडानहरू बन्द भएमा स्थानीय बासिन्दा देशका अन्य भागबाट अलग हुन सक्छन् र अत्यावश्यक सेवाहरूमा समेत अवरोध आउन सक्छ,” उनले चेतावनी दिए।

उक्त कोष सन् २०२५ को अन्त्यतिर स्थापना गरिएको थियो, जुन अमेरिका–इजरायल र इरान बीचको द्वन्द्वअघि नै सुरु गरिएको योजना हो।