वर्क भिसामा रहेका तीन भारतीयको सडक दुर्घटनामा मृत्यु – New Zealand News Nepal (NZ News Nepal)

वर्क भिसामा रहेका तीन भारतीयको सडक दुर्घटनामा मृत्यु

   April 29, 2026  

न्युजिल्याण्डको वायौरु नजिक सोमबार राति भएको भीषण सडक दुर्घटनामा वर्क भिसामा रहेका तीन भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार उक्त दुर्घटना राति करिब ११:५० बजे वेलिङ्टनबाट टउराङ्गातर्फ जाँदै गरेका बेला वायौरु बस्तीबाट करिब ५ किलोमिटर उत्तरतर्फ भएको हो। कारले सडकको बीच रेखा पार गर्दै ट्याङ्कर ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ।

दुर्घटनामा मञ्जिन्दर सिंह, सन्दीप सिंह र वरिन्दरपाल सिंहको ज्यान गएको हो। प्रहरीका अनुसार कारमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। ट्याङ्कर चालक भने सामान्य घाइते भएका छन् र उनको उपचार गरिएको छ।

आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए र सुरुमा अर्को व्यक्ति पनि संलग्न हुन सक्ने आशंकामा हेलिकप्टरसमेत परिचालन गरिएको थियो। पछि प्रहरीले कारमा तीन जना मात्र रहेको पुष्टि गरेको छ।

मञ्जिन्दर सिंह भारतको एसबीएस नगर, नवांशहरका बासिन्दा थिए भने सन्दीप सिंह र वरिन्दरपाल सिंह उत्तराखण्डका रहेका बताइएको छ।

तीनै जना न्युजिल्याण्डमा वर्क परमिटमा रहेका साथीहरू भएको र सँगै काम गर्दै आएका बताईएको छ । उनीहरू वेलिङ्टनबाट टाउराङ्गा फर्किँदै थिए ।

मञ्जिन्दर सिंहका श्रीमती र ३ र ७ वर्षका दुई छोरी रहेका छन्। सन्दीप सिंहका श्रीमती र एक सन्तान भारतमा रहेका छन् भने वरिन्दरपाल सिंह अविवाहित रहेको बताईएको छ ।