न्युजिल्याण्डमा पछिल्लो दश दिनको अवधिमा भएका १४ वटा सवारी दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाएका छन्। बढ्दो सडक दुर्घटनाप्रति प्रहरीले गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षित सवारी व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।
दुई हप्ताको अवधिमा सडक दुर्घटनाबाट भएको मृत्यु संख्याप्रति प्रहरीले गम्भीर चिन्ता व्यक्त गरेको छ। दैनिक रूपमा सुरक्षित सवारी व्यवहार अपनाउन आग्रह गर्दै प्रहरीले यस अवस्थालाई अत्यन्तै संवेदनशील रूपमा लिएको जनाएको छ।
सडक प्रहरीका कार्यवाहक निर्देशक इन्स्पेक्टर पिटर म्याकेनीका अनुसार, अप्रिल २० सोमबारदेखि यता १४ वटा छुट्टाछुट्टै दुर्घटनामा १८ जनाको ज्यान गएको छ। साथै, यस वर्ष अहिलेसम्म गत वर्षको यही अवधिको तुलनामा थप १२ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन्।
“हाम्रो पहिलो ध्यान हालैका दिनहरूमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति छ। यस्तो दुःखद क्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं,” उनले भने।
उनका अनुसार, “सडकमा हुने हरेक मृत्यु अस्वीकार्य छ। अझ चिन्ताजनक कुरा के छ भने, यस्ता धेरै दुर्घटना सुरक्षित सवारी व्यवहार अपनाएको भए टार्न सकिन्थ्यो। यसले प्रहरीलाई अत्यन्त निराश बनाएको छ।”
प्रहरीका प्रारम्भिक तथ्यांकअनुसार, पछिल्ला १० दिनमा भएका १८ मृत्युमध्ये १६ जना १०० किलोमिटर प्रतिघण्टा गति सीमा भएका खुला सडकमा ज्यान गुमाएका हुन्, जहाँ ट्राफिक सुरक्षा अवरोध (ब्यारियर) छैन। यस्ता सडकमा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउने खतरा उच्च हुने प्रहरीले जनाएको छ।
प्रहरीले ८० किलोमिटर प्रतिघण्टा भन्दा बढी गति सीमा भएका र सुरक्षा अवरोध नभएका सडकमा विशेष सावधानी अपनाउन सबै सवारी चालकलाई आग्रह गरेको छ।
इन्स्पेक्टर म्याकेनीले भने, “सवारी चालकले आफ्नो निर्णयको प्रभावलाई कहिल्यै हल्का रूपमा लिनु हुँदैन। यसले तपाईं र तपाईंका सहयात्री मात्र होइन, सडकका अन्य प्रयोगकर्ताहरूको जीवनमा पनि असर पार्न सक्छ।”
उनले थपे, “असुरक्षित व्यवहार देखिएमा प्रहरीले कडा कारबाही गर्नेछ। मदिरा वा लागूऔषधको प्रभावमा सवारी नचलाउने, थकान अवस्थामा गाडी नचलाउने, सधैं सीटबेल्ट लगाउने, ध्यान भंग नगर्ने र गति नियन्त्रणमा राख्ने जस्ता साधारण नियमहरूको पालनाले धेरै दुर्घटना रोक्न सकिन्छ।”
प्रहरीले सडक सुरक्षालाई बेवास्ता गर्नेहरूप्रति कुनै सहनशीलता नरहने स्पष्ट पारेको छ।
पृष्ठभूमि जानकारी:
- १०० किमि/घण्टा गति सीमा भएका सडकमा भएका ९ दुर्घटनामा सवारीसाधनले केन्द्ररेखा पार गरी विपरीत दिशाबाट आएका सवारीसँग ठोक्किँदा ११ जनाको मृत्यु भएको छ।
- सोही सडकमा भएका अन्य ३ दुर्घटना सडक बाहिर गएका कारण भएका थिए।
- कुल मृतकमध्ये ६ जनाले सीटबेल्ट प्रयोग गरेका थिएनन्, जसमा एक जना ५० किमि/घण्टा क्षेत्रभित्रका थिए।
- दुई घातक दुर्घटनामा मोटरसाइकल संलग्न थिए।
प्रहरीले सबै नागरिकलाई सडकमा जिम्मेवार र सचेत भएर सवारी चलाउन पुनः आग्रह गरेको छ।


