निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी गरेको हो। सकेसम्म हेलिकोप्टरको प्रयोग घटाउन अप्रेसन बेस बढाइएको सिलवालले बताए। यी बेसबाट पनि मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि सेनाले चार ठाउँमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेको छ। यस्तै सेनाले ५१ वटा कारागारको सुरक्षा जिम्मा पनि लिएको छ। त्यहाँ रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइने भएपछि सेनाले ती कारागारको सुरक्षा जिम्मा लिएको हो। देशका विभिन्न विमानस्थलको सुरक्षा जिम्मा पनि सेनाले लिइसकेको छ। विमानस्थलमा यात्रु चेकजाँच लगायतका अत्यावश्यक संख्यामा मात्रै प्रहरी राखेर बाँकी सुरक्षामा सेना खटिएको हो।


