न्युजिल्याण्डमा रहेका एघार लाख मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । शनिबार सम्ममा न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ११ लाख १ सय ३ पुगेको हो । यि मध्ये दश लाख बढी मानिस संक्रमण मुक्त भएका छन् भने ५६ हजार ३ सय ३५ जना अझै संक्रमित छन् । कोरोना कै कारण न्युजिल्याण्डमा ज्यान गुमाउनेको संख्या एक हजार नजिक पुगेको छ । हालसम्म कोरोनाको संक्रमण बाट न्युजिल्याण्डमा ९ सय ९७ जनाको मृत्यु भईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले पनि न्युजिल्याण्डमा कोरोनाले भयावह स्थिती लिईरहेको छ । कोरोना संक्रमितको संख्या यहाँ दैनिक रुपमा हजारौको गतिमा थपिईरहेको छ । शनिबार मात्र थप ६ हजार ७ सय २६ जनामा संक्रमण देखिएको छ भने हिजो ७ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितका आधारमा न्युजिल्याण्ड नेपाल भन्दा निकै अगाडि पुगेको छ । वर्ल्ड ओ मिटरका अनुसार विश्वका २२९ देशहरुमा न्युजिल्याण्ड ६० औं स्थानमा छ भने नेपाल ९ लाख ८० हजार संक्रमित सहित ६६ औं स्थानमा छ ।
कोरोनामा सबै भन्दा बढी प्रभावित हुने देशहरुमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, जर्मनी, बेलायत, रसिया, दक्षिण कोरिया, इटाली र टर्की छन् । अमेरिकाका ८ करोड ४९ लाख मानिसलाई कोरोना लागिसकेको छ । त्यस्तै भारतमा ४ करोड ३१ लाख , ब्राजिलमा ३ करोड ७ लाख, फ्रान्समा २ करोड ९३ लाख, जर्मनीमा २ करोड ६० लाख, बेलायतमा २ करोड २२ लाख कोरोनाका संक्रमित छन् । मृत्यु हुनेको संख्यामा भने अमेरिका र ब्राजिल अगाडि छन् । अमेरिकामा कोरोनाका कारण १० लाख बढीको ज्यान गएको छ भने ब्राजिलमा ६ लाख ६५ हजार मानिसको मृत्यु भईसकेको छ ।
त्यस्तै कोरोनाबाट सबै भन्दा कम प्रभावित हुने देशहरुमा सेन्ट हेलेना, नौरु, माईक्रोनेसिया, निउे लगायतका छन् । जनसंख्याअनुसार यि देशमा संक्रमित पनि कम छन् ।