आउँदो आइतबार अकल्याण्डमा आयोजना हुन लागेको ऐतिहासिक कन्सर्टका लागि न्युजिल्याण्ड आइपुगेको चर्चित नेपाली ब्याण्ड Nepathya को टोलीलाई माओरी परम्पराअनुसार भव्य स्वागत गरिएको छ।
मंगलबार मध्यराति अकल्याण्ड आइपुगेका ब्याण्डका सदस्यहरूलाई बुधबार विशेष कार्यक्रम आयोजना गरी न्युजिल्याण्डको आदिवासी माओरी समुदायको पारम्परिक ‘हाका’ प्रस्तुतिसहित स्वागत गरिएको हो। कार्यक्रममा नेपथ्यका सम्पूर्ण सदस्यहरूलाई स्थानीय संस्कृतिअनुसार सम्मान प्रकट गर्दै पारम्परिक शैलीमा स्वागत गरिएको थियो।
स्वागत कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, आयोजक टोली तथा स्थानीय अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा माओरी संस्कृतिको झल्को दिने प्रस्तुतिले विशेष आकर्षण थपेको थियो।
नेपथ्यको अकल्याण्ड कन्सर्टलाई न्युजिल्याण्डस्थित नेपाली समुदायमाझ ठूलो सांगीतिक कार्यक्रमका रूपमा हेरिएको छ। ब्याण्डले आफ्नो चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ।


