न्युजिल्याण्ड सरकारले नागरिकता प्राप्त गर्ने प्रक्रियामा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ। सरकारले सन् २०२७ को अन्त्यदेखि लागू हुने गरी नयाँ “सिटिजनसिप टेस्ट” अर्थात् नागरिकता परीक्षा सुरु गर्ने घोषणा गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब न्युजिल्याण्डको नागरिकता लिन आवेदन दिने व्यक्तिहरूले परीक्षा दिनुपर्नेछ। विशेषगरी “सिटिजनसिप बाइ ग्रान्ट” अन्तर्गत आवेदन दिने, अर्थात् न्युजिल्याण्ड बाहिर जन्मिएका र आवश्यक बसोबास अवधि पूरा गरेका व्यक्तिहरूलाई यो नियम लागू हुनेछ।
परीक्षा प्रत्यक्ष उपस्थित भएर दिनुपर्नेछ र बहुविकल्पीय प्रश्नहरू समावेश हुनेछन्। परीक्षामा पास हुन कम्तीमा ७५ प्रतिशत अंक ल्याउनुपर्ने बताइएको छ।
सरकारका अनुसार परीक्षामा न्युजिल्याण्डको कानुन, लोकतान्त्रिक मूल्य, मानव अधिकार, मतदान अधिकार, सरकारको संरचना तथा नागरिकको जिम्मेवारी र अधिकार सम्बन्धी विषय समेटिनेछन्।
आन्तरिक मामिला विभागले परीक्षाका लागि अध्ययन सामग्री र तयारीसम्बन्धी मार्गदर्शन उपलब्ध गराइने जनाएको छ। साथै, विस्तृत नियम तथा प्रक्रिया आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ।
सरकारले यो कदमले न्युजिल्याण्ड नागरिकताको महत्व अझ मजबुत बनाउने र नागरिकता प्राप्त गर्ने व्यक्तिहरूमा देशप्रतिको जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरेको छ।


