अकल्याण्डमा नेपाली सांगीतिक माहोल तातिन थालेको छ। नेपालकै चर्चित ब्यान्ड नेपथ्यको कन्सर्ट घोषणा भएसँगै दर्शकहरूमा ठूलो उत्साह देखिएको छ। नेपालमा मात्र होइन, विश्वभर रहेका नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय ब्यान्ड भएकाले कार्यक्रममा ठूलो संख्यामा उपस्थितिको आँकलन गरिएको छ।
दर्शकको सम्भावित चापलाई ध्यानमा राख्दै आयोजकले यसपटक कन्सर्ट स्थलका रूपमा अकल्याण्डस्थित Due Drop Events Centre चयन गरेको जनाएको छ। ठूलो क्षमताको हलमा आयोजना हुन लागेको यो कार्यक्रम न्युजिल्याण्डमा हालसम्म आयोजना भएका नेपाली सांगीतिक कार्यक्रमहरूमध्ये सबैभन्दा धेरै दर्शक उपस्थित हुने शो बन्ने छ।
आयोजकका अनुसार कन्सर्टका ‘फ्लोर टिकट’ हरू हालसम्म पूर्ण रूपमा ‘सोल्ड आउट’ भइसकेका छन् भने बाँकी टिकटहरू पनि छिट्टै सकिने अनुमान गरिएको छ। कार्यक्रममा करिब दुई हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
कन्सर्टका लागि नेपथ्यको टोली मंगलबार राति अकल्याण्ड आइपुगेको छ। आयोजक लाखे ईभेन्ट्सका सदस्यहरूले अकल्याण्ड विमानस्थलमा ब्यान्डका सदस्यहरूलाई स्वागत गरेका थिए। त्यसपछि बुधबार आयोजित एक विशेष कार्यक्रममा माओरी परम्पराअनुसार नेपथ्य टोलीको औपचारिक स्वागत गरिएको थियो।
नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली मौलिक संगीत र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउँदै आएको छ। त्यसैले अकल्याण्डमा हुने यो कन्सर्ट विदेशमा रहेका नेपालीहरूका लागि केवल सांगीतिक कार्यक्रम मात्र नभई भावनात्मक जमघटसमेत बन्ने अपेक्षा गरिएको छ।
त्यसो त न्युजिल्याण्डमा नेपाली सांगीतिक कार्यक्रमहरू भइरहेकै हुन्छन्, तर नेपथ्यको जस्तो मज्जा अरूमा नहुने संगीतप्रेमीहरू बताउँछन्। यसअघि सन् २०१७ मा अकल्याण्डमा नेपथ्यले आफ्नो प्रस्तुति दिएको थियो। सो समयमा पनि उल्लेख्य रूपमा दर्शकको उपस्थिति रहेको थियो।
नेपथ्यका गीत नसुन्ने सायद नै कोही नेपाली होलान्। ‘रेशमदेखि भेडाको ऊन जस्तो’, ‘जोमसोमै बजारमा’, ‘तालको पानी’, ‘उडायो रेलैले’, ‘जोगाले हुन्छ भेट’, ‘छेक्यो छेक्यो’, ‘चरी मर्यो सिसैको गोलीले’, ‘यानी माया’, ‘यो जिन्दगानी’ जस्ता गीतहरू नेपाली जनजीवनसँग गहिरोसँग गाँसिएका छन्।
यी गीतहरू केवल सुन्ने मात्रै होइन, हरेक नेपालीको मुखमा झुण्डिएको, मनमा बसेको र भावनामा बगेको संगीत बनेका छन्। गाउँदेखि सहरसम्म, देशभित्रदेखि विदेशसम्म जहाँ नेपाली छन्, त्यहाँ नेपथ्यका गीतहरू गुन्जिने गरेका छन्।
यिनै कालजयी गीतहरूमा झुम्नका लागि अकल्याण्डमा हुन लागेको नेपथ्यको कन्सर्टमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। लामो समयपछि प्रत्यक्ष रूपमा यी लोकप्रिय गीतहरू सुन्न र गाउन पाउने अवसर भएकाले यस कन्सर्टलाई धेरैले छुटाउनै नहुने र जीवनभर नबिर्सिने क्षणका रूपमा लिएका छन्।
यसअघि पनि न्युजिल्याण्डमा थुप्रै चर्चित नेपाली कलाकारले लाखे ईभेन्ट्सको आयोजनमा सफल प्रस्तुति दिइसकेका छन्। सविन राई, विपुल क्षेत्री, एज ब्यान्ड, प्रमोद खरेल, मेलिना राई, कालीप्रसाद बाँस्कोटा, शान्ति श्री परियार, सज्जनराज वैद्य, साईग्रेस पोखरेल, आशिष राना (लाउरे), सुदिन पोखरेल, विवेक, याबेश, प्रकाश सपुत, भरतमणि पौडेल र सुमन कार्की लगायतका कलाकारका कार्यक्रमहरू अत्यन्त सफल भएका थिए।
अब नेपथ्यको आगमनसँगै अकल्याण्डमा मात्र नभएर पुरै न्युजिल्याण्डभर पुनः नेपाली संगीतको लहर चल्ने अपेक्षा गरिएको छ। नेपाली समुदायका लागि यो कन्सर्ट विशेष आकर्षणको केन्द्र बन्ने देखिएको छ ।


