न्युजिल्याण्डसहित विभिन्न देशका १५ अवैतनिक दूत हटाउने सरकारको निर्णय – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डसहित विभिन्न देशका १५ अवैतनिक दूत हटाउने सरकारको निर्णय

   May 9, 2026  

नेपाल सरकारले न्युजिल्याण्डसहित विभिन्न देशमा कार्यरत १५ जना नेपाली अवैतनिक दूत (अनररी कन्सुल) लाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार (वैशाख २५) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विदेशस्थित १५ स्थानमा रहेका नेपाली अनररी कन्सुल जनरल तथा कन्सुलहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् ।

पदमुक्त गरिएका अवैतनिक दूतहरूमा अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अष्ट्रेलियाका एडलेड, मेलबर्न र सिड्नी, न्युजिल्याण्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जकार्ता तथा इजरायलको रेहोवोट सिटीका प्रतिनिधि रहेका छन् ।

त्यसैगरी साइप्रसको निकोसिया, जर्मनीका एनआरडब्ल्यू, ब्रेमिन र लोवर स्याक्सोनी, साथै पोल्याण्डको वार्सा, स्लोभेनिया र माल्टास्थित अवैतनिक दूतहरूलाई पनि पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार “अनररी कन्सुलसम्बन्धी नियमावली, २०३९ (छैटौँ संशोधन)” को परिच्छेद २ को नियम ७(८) बमोजिम ती स्थानहरूमा अवैतनिक दूतहरूको सेवाको आवश्यकता, औचित्यता तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै विदेशमा रहेका नेपाली समुदाय तथा कूटनीतिक समन्वयमा यसको प्रभावबारे चासो बढेको छ । विशेषगरी न्युजिल्याण्डसहित नेपाली समुदाय रहेका मुलुकमा नयाँ नियुक्ति हुने वा नहुने विषयलाई लिएर समेत चर्चा सुरु भएको छ ।