पदबाट हटे पनि नेपाली समुदायको सेवामा निरन्तर रहने वाणिज्यदूत खड्काको घोषणा – New Zealand News Nepal (NZ News Nepal)

पदबाट हटे पनि नेपाली समुदायको सेवामा निरन्तर रहने वाणिज्यदूत खड्काको घोषणा

   May 9, 2026  

न्युजिल्याण्डका लागि नेपालका अवैतनिक वाणिज्यदूत दिनेश खड्काले आफु पदमुक्त भए पनि नेपाली समुदायको सेवा र नेपाल–न्युजिल्याण्ड सम्बन्ध सुदृढ बनाउने आफ्नो प्रयास निरन्तर जारी रहने बताएका छन्।

नेपाल सरकारले हालै विभिन्न देशमा रहेका केही अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खड्काले आफूले विगत चार वर्षसम्म जिम्मेवारीपूर्वक सेवा गर्ने अवसर पाएको उल्लेख गरेका छन्।

उनले नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफूलाई मातृभूमिको प्रतिनिधित्व गर्ने अवसर दिएकोमा धन्यवाद दिएका छन्। साथै, न्युजिल्याण्डमा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था, स्वयंसेवक, सरकारी निकाय तथा कूटनीतिक सहकर्मीहरूको सहयोग र विश्वासले आफ्नो कार्यकाल सफल बनेको बताएका छन्।

खड्काले आफ्नो कार्यकालमा नेपाल–न्युजिल्याण्ड सम्बन्धलाई अझ मजबुत बनाउन तथा यहाँ रहेका नेपाली समुदायका समस्या समाधान र आवश्यक सहयोगका लागि निरन्तर काम गरेको उल्लेख गरेका छन्। उनले समुदायको साथ, विश्वास र मायाले आफूलाई सधैं प्रेरित गरिरहने पनि बताएका छन्।

“यो अध्याय अन्त्य भए पनि नेपाली समुदायप्रतिको मेरो जिम्मेवारी र सेवा भावना कहिल्यै अन्त्य हुने छैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले नेपाल र न्युजिल्याण्डका राजनीतिक नेतृत्वप्रति पनि धन्यवाद व्यक्त गर्दै आफ्नो कामप्रति विश्वास र समर्थन दिएको बताएका छन्। साथै, परिवारले व्यक्तिगत समय र पारिवारिक क्षणहरू त्याग गरेर आफूलाई साथ दिएको उल्लेख गर्दै विशेष आभार प्रकट गरेका छन्।

नेपाल सरकारले न्युजिल्याण्डसहित विभिन्न देशका १५ अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेपछि दिनेश खड्काको यो प्रतिक्रिया सार्वजनिक भएको हो।