न्युजिल्याण्ड सरकारले सञ्चालन गर्दै आएको “फिस–फ्री विश्वविद्यालय” योजना आगामी बजेटबाट हटाउने तयारी गरेको पुष्टि भएको छ। अर्थमन्त्री निकोला विलिसले उक्त योजना खारेज गरिने दाबीलाई पुष्टि गरेकी हुन्।
यसअघि , विन्स्टन पिटर्सले शुक्रबार साँझ Newstalk ZB सँग कुरा गर्दै विद्यार्थीहरूको उच्च शिक्षाको अन्तिम वर्षको शुल्क सरकारले व्यहोर्ने व्यवस्था अब समाप्त हुने बताएका थिए। त्यसपछि अर्थमन्त्री विलिसले विज्ञप्ति जारी गर्दै सो दाबीलाई पुष्टि गरेकी हुन्।
विलिसले जारी गरेको वक्तव्यमा भनिएको छ, “सत्ता साझेदार दलहरूबीचको निरन्तर छलफलले बजेटसम्बन्धी यस्ता निर्णयहरू ल्याएको हो, जसले न्युजिल्याण्डवासीहरूको तत्कालीन र दीर्घकालीन हितलाई अगाडि बढाउनेछ।”
उनले यस विषयमा सरकारले छिट्टै थप विवरण सार्वजनिक गर्ने पनि बताइन्।
यद्यपि, सन् २०२६ मा आफ्नो उच्च शिक्षा पूरा गर्ने विद्यार्थीहरू भने हाल कायम रहेको फिस–फ्री योजनाअन्तर्गत नै रहने अर्थमन्त्री विलिसले स्पष्ट पारेकी छन्।
यस योजनालाई पूर्ववर्ती लेबर पार्टीको सरकारले विद्यार्थीहरूलाई उच्च शिक्षामा आकर्षित गर्ने उद्देश्यसहित सुरु गरेको थियो। सुरुमा पहिलो वर्ष निःशुल्क बनाइएको योजना पछि परिमार्जन गर्दै अन्तिम वर्षको अध्ययन शुल्क सरकारले व्यहोर्ने व्यवस्था लागू गरिएको थियो।
अब योजना हटाइने निर्णयले विद्यार्थी समुदायमा मिश्रित प्रतिक्रिया आउने अनुमान गरिएको छ। कतिपयले सरकारी खर्च घटाउन आवश्यक कदमका रूपमा हेरेका छन् भने विद्यार्थी संगठनहरूले भने यसले उच्च शिक्षामा पहुँच कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।