भावुक सम्बोधन दिदै संसदबाट बिदा भईन् पुर्व रक्षा मन्त्री जुडिथ कोलिन्स – New Zealand News Nepal (NZ News Nepal)

भावुक सम्बोधन दिदै संसदबाट बिदा भईन् पुर्व रक्षा मन्त्री जुडिथ कोलिन्स

   May 12, 2026  

न्युजिल्याण्डकी निवर्तमान नेसनल पार्टीकी वरिष्ठ नेतृ तथा मन्त्री जुडिथ कोलिन्सले संसदबाट बिदा हुँदै दिएको अन्तिम सम्बोधनमा संघर्ष, नेतृत्व, राजनीति र सञ्चारमाध्यमबारे खुलेर धारणा व्यक्त गरेकी छन्।

२४ वर्ष लामो संसदीय यात्रापछि संसदबाट बाहिरिन लागेकी कोलिन्सले “संघर्ष बिना मानिस कहिल्यै बलियो बन्न सक्दैन” भन्दै आफ्नो राजनीतिक जीवनका उतारचढाव सम्झिएकी थिइन्।

संसदमा अन्तिम सम्बोधन गर्दै उनले भनिन्, “म कहिलेकाहीँ भन्छु, कठिनाइ भनेको आफ्नो चरित्र देखाउने अवसर हो। यति धेरै कठिनाइ, यति धेरै चरित्र।” उनको उक्त भनाइपछि संसद कक्ष हाँसोले गुञ्जिएको थियो।

राजनीतिक यात्राको सुरुवातमा आफूबाट धेरै अपेक्षा नगरिएको स्मरण गर्दै कोलिन्सले आफूले अवसरलाई चुनौतीका रूपमा लिएको बताइन्। “म राजनीतिमा टिक्दिनँ भन्ने धेरैको सोच थियो। त्यसैले मैले आफूमा भएको क्षमताको अधिकतम उपयोग गर्ने निर्णय गरेँ,” उनले भनिन्।

नेसनल पार्टीको नेतृसमेत बनेकी कोलिन्सले आफ्नो स्वभावका कारण सत्ताको ‘हाइरार्की’ खुसी पारेर अघि बढ्न नसक्ने बताउँदै आफू कहिल्यै “आफ्नो पालो पर्खेर बस्ने” व्यक्ति नभएको उल्लेख गरिन्।

उनले राजनीतिमा रहँदा आफू कहिलेकाहीँ “अलि कठोर” हुने गरेको स्वीकार पनि गरिन्। आफ्नो कार्यकालका उपलब्धिमध्ये जेलभित्र धूम्रपान प्रतिबन्ध लगाउने निर्णयलाई विशेष रूपमा उल्लेख गर्दै उनले भनिन्, “हो, त्यो मैले नै गरेकी हुँ।”

रक्षा मन्त्रीका रूपमा सन् २०२५ मा युक्रेन भ्रमण गरेको अनुभव सुनाउँदै उनले न्युजिल्याण्ड संसदले युक्रेनको स्वतन्त्रताको पक्षमा दिएको समर्थनप्रति गर्व व्यक्त गरिन्।

यसैबीच उनले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमप्रति पनि टिप्पणी गरिन्। “आजकाल शीर्षकहरू समाचारभन्दा क्लिकका लागि बनाइन्छन्,” भन्दै उनले सञ्चारमाध्यमलाई “समाचार बन्न होइन, समाचार दिन” आग्रह गरिन्।

कोलिन्सले सन् २०२० मा महामारीका बीच राष्ट्रिय पार्टीको नेतृत्व सम्हालेको समयलाई आफ्नो जीवनकै कठिन कालका रूपमा सम्झिइन्। त्यतिबेला सात हप्ताभित्र विपक्षी दलको तेस्रो नेतृ बनेकी थिइन्।

अन्तिम सम्बोधनमा उनले सभामुख गेरी ब्राउनली, सांसद शेन रेती र वित्त मन्त्री निकोला विलिस लगायतलाई कठिन समयमा साथ दिएको भन्दै धन्यवाद दिइन्।

उनको सम्बोधनपछि संसद कक्षमा उपस्थित सांसदहरूले उभिएर सम्मान प्रकट गरेका थिए। सार्वजनिक दीर्घामा पूर्व प्रधानमन्त्री जेनी शिप्ली र डन ब्रास लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कोलिन्स अब न्युजिल्याण्डको कानुन आयोगको अध्यक्ष बन्ने तयारीमा छन्। उनले प्रतिनिधित्व गर्दै आएको पापाकुरामा निर्वाचन नजिकिएकाले उपनिर्वाचन भने नहुने बताइएको छ।