न्युजिल्याण्डको राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
अकल्याण्डस्थित Eden Park मा आयोजित विशेष कार्यक्रममा टोली सार्वजनिक गरिएको हो । यही मैदानमा टोलीले मार्च २०२५ मा विश्वकपका लागि छनोट सुनिश्चित गरेको थियो ।
मुख्य प्रशिक्षक Darren Bazeley ले घोषणा गरेको टोलीमा अनुभवी खेलाडी र युवा प्रतिभाको सन्तुलित संयोजन गरिएको बताएका छन् । उनले विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च भएको उल्लेख गर्दै टोली छनोट गर्नु आफ्नो लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् ।
टोलीकप्तान तथा स्टार फरवार्ड Chris Wood टोलीका प्रमुख आकर्षण बनेका छन् । इंग्लिस क्लब Nottingham Forest बाट खेलिरहेका वुडले न्यूजिल्याण्डका लागि ८८ खेलमा ४५ गोल गरिसकेका छन् ।
त्यस्तै टोलीमा Sarpreet Singh, Liberato Cacace, Joe Bell, Kosta Barbarouses लगायत अनुभवी खेलाडी समावेश छन् ।
न्यूजिल्याण्ड समूह ‘जी’ मा परेको छ, जहाँ उसले Iran, Egypt र Belgium सँग प्रतिस्पर्धा गर्नेछ । फिफा वरीयतामा इरान २१औँ, इजिप्ट २९औँ तथा बेल्जियम ९औँ स्थानमा रहेका छन् ।
न्यूजिल्याण्डले आफ्नो विश्वकप यात्रा जुन १६ मा अमेरिकाको लस एन्जलसमा इरानविरुद्ध खेल्दै सुरु गर्नेछ । त्यसपछि जुन २२ मा क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह चरणको अन्तिम खेलमा जुन २७ मा बेल्जियमसँग भिड्नेछ ।
मुख्य प्रशिक्षक बेज्लीले टोली विश्वकपमा इतिहास रच्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् । उनले विगत केही वर्षदेखि करिब ५५ खेलाडीलाई निगरानीमा राखेर अन्तिम टोली चयन गरिएको उल्लेख गर्दै युवा र अनुभवी खेलाडीको मिश्रणले न्यूजिल्याण्डलाई उत्कृष्ट प्रदर्शन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
न्यूजिल्याण्डको २६ सदस्यीय टोली:
म्याक्स क्रोकोम्बे, टिम पेन, फ्रान्सिस डे भ्रिस, टायलर बिन्डन, माइकल बक्सल, जो बेल, म्याट गार्बेट, मार्को स्टामेनिच, क्रिस वुड, सरप्रित सिंह, एली जस्ट, एलेक्स पाउलसेन, लिबेराटो काकाचे, एलेक्स रुफर, नान्डो पाइनाकर, फिन सर्मन, कोस्टा बारबाराउसेस, बेन वेन, बेन ओल्ड, कालम म्याककोवाट, जेसी रान्डल, माइकल वाउड, रायन थोमस, कालन इलियट, लाक्लान बेलिस र टोमी स्मिथ ।


