न्यूजिल्याण्ड सरकारले जीवन जोखिममा रहेका बालबालिका तथा उनीहरूका परिवारलाई घर नजिकैबाट विशेषज्ञ प्यालेटिभ केयर सेवा उपलब्ध गराउने उद्देश्यसहित १५.५ मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।
बजेट २०२६ अघि गरिएको उक्त घोषणा स्वास्थ्य मन्त्री सिमियोन ब्राउनले बुधबार संसद भवनबाट गरेका हुन् ।
सरकारका अनुसार नयाँ लगानीले गम्भीर तथा ज्यान जोखिममा रहेका बालबालिकालाई आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन मद्दत पुग्नेछ । यसबाट परिवारहरूले टाढासम्म यात्रा गर्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आगामी मे २८ मा सार्वजनिक हुने बजेटका लागि सञ्चालन खर्चतर्फ २.१ बिलियन डलरको प्याकेज तय गरिएको जानकारी दिएका छन् । यो रकम गत डिसेम्बरमा प्रस्तुत बजेट नीति वक्तव्यमा उल्लेख गरिएको २.४ बिलियन डलरको सीमाभन्दा करिब ३०० मिलियन डलर कम हो ।
प्रधानमन्त्री लक्सनका अनुसार पूँजीगत खर्चतर्फ भने ५.७ बिलियन डलर विनियोजन गरिनेछ, जुन यसअघि संकेत गरिएकोभन्दा बढी हो । उनले रक्षा, पूर्वाधार, विद्यालय तथा अस्पताल क्षेत्रमा लगानी केन्द्रित गरिने बताएका छन् ।