पूर्व वाणिज्यदूत खड्काको सक्रियता कायमै, स्वास्थ्य तथा ऊर्जा मन्त्रीसँग महत्वपूर्ण छलफल – New Zealand News Nepal (NZ News Nepal)

पूर्व वाणिज्यदूत खड्काको सक्रियता कायमै, स्वास्थ्य तथा ऊर्जा मन्त्रीसँग महत्वपूर्ण छलफल

   May 15, 2026  

न्युजिल्याण्डका लागि नेपालका पूर्व अवैतनिक वाणिज्यदूत दिनेश खड्काले आफ्नो औपचारिक जिम्मेवारी समाप्त भएपछि पनि नेपाल र नेपाली समुदायको हितका लागि सक्रियता कायम राखेका छन्।

खड्काले शुक्रबार न्युजिल्याण्डका स्वास्थ्य तथा ऊर्जा मन्त्री सिमियो ब्राउनसँग महत्वपूर्ण भेटवार्ता गर्दै नेपाल र न्युजिल्याण्डबीच सहकार्य विस्तारका विविध सम्भावनाबारे छलफल गरेका हुन्।

भेटका क्रममा स्वास्थ्य क्षेत्रमा सरकार–सरकार (जिटुजि) मोडलमार्फत औषधि आयात सम्बन्धी सहकार्यको विषयमा विशेष चर्चा भएको बताइएको छ। न्युजिल्याण्डले हाल आफ्नो करिब ८० प्रतिशत औषधि विदेशबाट आयात गर्दै आएको अवस्थामा नेपालका औषधि उद्योगलाई पनि अवसर सिर्जना हुन सक्ने खड्काले उल्लेख गरेका छन्। नेपाल सरकारले औपचारिक पहल गरे ‘फार्माक’ मार्फत सहकार्य अघि बढाउन सकिने सम्भावनाबारे सकारात्मक संवाद भएको जनाइएको छ।

त्यसैगरी ऊर्जा क्षेत्रतर्फ नेपालका जलविद्युत् परियोजनामा प्राविधिक सहयोग आदानप्रदानबारे पनि छलफल भएको छ। नेपालमा जलविद्युत्को विशाल सम्भावना भए पनि धेरै साना तथा मझौला परियोजनाहरू प्राविधिक मर्मत र व्यवस्थापनका चुनौतीसँग जुधिरहेका बेला न्युजिल्याण्डले आफ्नो प्राविधिक अनुभव र दक्षता साझेदारी गर्न इच्छुक रहेको मन्त्री ब्राउनले बताएका छन्।

खड्काले नेपालमा ऊर्जा र स्वास्थ्य क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाल र न्युजिल्याण्डबीचको सम्बन्धलाई अझ व्यवहारिक र परिणाममुखी बनाउन आफूले निरन्तर पहल गर्दै आएको बताएका छन्।

न्युजिल्याण्डका लागि नेपालका अवैतनिक वाणिज्यदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरिसकेपछि पनि आफू नेपाल र नेपाली समुदायप्रति उत्तिकै प्रतिबद्ध रहेको खड्काले बताएका छन्। उनले नयाँ आउने अवैतनिक वाणिज्यदूतलाई आवश्यक सहयोग र सहजीकरण गर्न आफू सधैं तयार रहेको उल्लेख गर्दै नेपाल–न्युजिल्याण्डबीच सुरु भएका महत्वपूर्ण पहलहरूलाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।