न्युजिल्याण्डका करिब ३५ हजार नर्सको तलब बढ्ने, नयाँ सामूहिक सम्झौता स्वीकृत – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका करिब ३५ हजार नर्सको तलब बढ्ने, नयाँ सामूहिक सम्झौता स्वीकृत

   May 17, 2026  

न्युजिल्याण्ड नर्सेस अर्गनाइजेशन अन्तर्गत हेल्थ न्युजिल्याण्डमा कार्यरत करिब ३५ हजार नर्स, स्वास्थ्य सहायक तथा सुत्केरी सेवा दिने स्वास्थ्यकर्मीहरूको नयाँ सामूहिक रोजगार सम्झौता पारित भएको छ।

२० महिनाका लागि गरिएको उक्त सम्झौताअनुसार पहिलो वर्ष २ दशमलव ५ प्रतिशत र दोस्रो वर्ष २ प्रतिशत तलब वृद्धि गरिनेछ। साथै “इन्रोल्ड नर्स” तलब स्केलको उच्च तहमा रहेका कर्मचारीलाई अतिरिक्त २ हजार डलर तलब समायोजन दिइने भएको छ।

यसैगरी, वरिष्ठ जिम्मेवारी सम्हालिरहेका नर्सहरूलाई १ हजार ३ सय डलर तथा अन्य कर्मचारीलाई १ हजार डलर एकमुष्ट भुक्तानी गरिनेछ। “नर्स प्र्याक्टिसनर” हरूका लागि दिइने व्यावसायिक विकास भत्ता पनि वार्षिक ५ हजार डलरबाट बढाएर ६ हजार डलर पुर्‍याइने भएको छ। अन्य विभिन्न भत्तामा समेत वृद्धि गरिने जनाइएको छ।

स्वास्थ्य मन्त्री सिमियोन ब्राउनले सम्झौता सफलतापूर्वक पारित भएकोमा स्वागत गर्दै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गरेका छन्।

उनले नर्स, स्वास्थ्य सहायक तथा सुत्केरी सेवा दिने स्वास्थ्यकर्मीहरू न्युजिल्याण्डको स्वास्थ्य प्रणालीको केन्द्रमा रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि बिरामी र उनीहरूका परिवारलाई महत्वपूर्ण साथ दिइरहेको बताएका छन्।

सम्झौतामा बिरामीको सुरक्षित हेरचाह तथा नर्सहरूको कार्य वातावरण सुधार गर्ने साझा प्रतिबद्धतासहित “सुरक्षित बिरामी हेरचाह प्रतिबद्धता पत्र” पनि समावेश गरिएको छ। उक्त दस्तावेज न्युजिल्याण्ड नर्सेस अर्गनाइजेशन र हेल्थ न्युजिल्याण्डले संयुक्त रूपमा तयार गरेका हुन्।

यो सम्झौता गत वर्ष तलब, कार्यचाप तथा कर्मचारी अभावको विषयलाई लिएर नर्सहरूले गरेको पटक–पटकको हड्तालपछि आएको हो।

हालै एपेक्स फार्मेसी सदस्य, मनोवैज्ञानिक, आहारविद्, सार्वजनिक तथा मानसिक स्वास्थ्य नर्स, रेजिडेन्ट मेडिकल अफिसर तथा वरिष्ठ मेडिकल अफिसरहरूका लागि पनि यस्तै सामूहिक सम्झौता स्वीकृत भइसकेको छ।

मन्त्री ब्राउनले दुवै पक्षबीच भएको रचनात्मक वार्ताले स्वास्थ्यकर्मीलाई स्थायित्व दिने र न्युजिल्याण्डवासीले आवश्यक स्वास्थ्य सेवा निरन्तर पाउने विश्वास व्यक्त गरेका छन्।