न्युजिल्याण्डको सत्तारुढ नेसनल पार्टीले सरकारी कर्मचारी संख्या नियन्त्रण गर्दै करदाताको अर्बौं डलर बचत गर्ने दाबी गरेको छ। पार्टीले सार्वजनिक सेवा क्षेत्रमा भएको तीव्र विस्तारलाई नियन्त्रणमा ल्याएर सरकारी खर्च घटाउने नीति अघि सारेको बताएको हो।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा नेसनल पार्टीले क्यानडा, सिंगापुर र न्युजिल्याण्डका नीतिहरू तुलना गर्दै सरकारी कर्मचारी संख्या घटाउने वा नियन्त्रण गर्ने अभ्यास विश्वका अन्य देशहरूले पनि अपनाइरहेको जनाएको छ।
नेसनल पार्टीका अनुसार क्यानडाले आगामी केही वर्षमा संघीय सरकारी कर्मचारी संख्या १० प्रतिशतले घटाउने योजना बनाएको छ भने सिंगापुरले सार्वजनिक सेवा क्षेत्रको वृद्धि समग्र श्रमशक्तिको वृद्धिभन्दा बढी हुन नदिने नीति लिएको छ।
यसैबीच न्युजिल्याण्डमा भने नेसनल पार्टीले सरकारी कर्मचारी संख्या कुल जनसंख्याको १ प्रतिशतको स्तरमा फर्काउने लक्ष्य राखेको जनाएको छ। पार्टीका अनुसार यसबाट करदाताको करिब २ अर्ब ४० करोड न्युजिल्याण्ड डलर बचत हुने अनुमान गरिएको छ।
नेसनल पार्टीले अघिल्लो सरकारले सरकारी कर्मचारी संख्या अत्यधिक बढाएको आरोप लगाउँदै त्यसले सरकारी खर्च र करदातामाथिको भार बढाएको दाबी गरेको छ। पार्टीको भनाइमा सार्वजनिक सेवा प्रभावकारी बनाउन “कम तर दक्ष” कर्मचारी संरचना आवश्यक छ।
तर विपक्षी दल तथा कर्मचारी संगठनहरूले भने कर्मचारी कटौतीले सार्वजनिक सेवा प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवा क्षेत्रमा कर्मचारी कमी हुँदा सर्वसाधारणले सेवा पाउन थप कठिनाइ हुन सक्ने उनीहरूको तर्क छ।
सरकारले भने आवश्यक सेवा कायम राख्दै खर्च नियन्त्रण गर्ने नीति अनुसार पुनर्संरचना अघि बढाइएको जनाएको छ।


