आज सगरमाथा दिवस, न्युजिल्याण्डमा पनि मनाईदै – New Zealand News Nepal (NZ News Nepal)

आज सगरमाथा दिवस, न्युजिल्याण्डमा पनि मनाईदै

   May 28, 2022  

आज मे २९ अर्थात सगरमाथा दिवस । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ वर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथाको सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै आज यो दिवस नेपाल लगायत विश्वको बिभिन्न देशमा मनाईन्छ । न्युजिल्याण्डमा पनि यो दिवस आज मनाईदै छ । न्युजिल्यान्डमा सन् २०१४ देखि मनाउन सुरू गरिएको सगरमाथा दिवस यो वर्ष न्युजिल्यान्डका विभिन्न ६ शहरमध्ये इन्भरकारगिलमा २८ मे का दिन हिजै मनाईएको छ भने बाँकी ४ शहरमा आज मनाईदै छ । राजधानी वेलिङटनमा भने आउदो मे ३१ का दिन यो दिवस मनाउने तयारी छ ।

न्युजिल्यान्डमा रहेका सगरमाथा आरोहीको सम्मानसहित विविध कार्यक्रम आयोजना गरिने आयोजक गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले जानकारी दिएको छ। सर एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण विषयमा उत्थान गर्ने हेतुले स्थापना गरेको संस्था हिमालयन ट्रस्ट र न्युजिल्यान्डका नेपाली संघ संस्थाहरुको यो दिवसको आयोजनामा सहकार्य गर्नेछन्। नर्थ आईल्याण्डको अकल्याण्ड, ह्यामिल्टन र बे अफ प्लेन्टीको पापामोवामा आज बिशेष कार्यक्रम आयोजना गर्ने तयारी छ ।