न्युजिल्याण्ड फर्स्ट पार्टीले सत्तामा पुग्नका लागि लेबर पार्टीसँग सहकार्य नगर्ने संकेत दिएको छ। पार्टी नेता विन्स्टन पिटर्सले हालैका भाषणहरूमा न्युजिल्याण्ड फर्स्टलाई “राष्ट्रवादी” र “सन्तुलन कायम गर्ने” पार्टीको रूपमा प्रस्तुत गर्दै लेबर–ग्रीन गठबन्धनको आलोचना गरेका छन्।
हाल न्युजिल्याण्ड फर्स्ट, क्रिस्टोफर लक्सन नेतृत्वको नेशनल सरकारसँग गठबन्धनमा रहेको छ। सन् २०२३ को चुनावपछि नेशनल, एक्ट र न्युजिल्याण्ड फर्स्ट मिलेर सरकार गठन गरेका थिए।
यद्यपि विगतमा भने न्युजिल्याण्ड फर्स्टले लेबरसँग पनि सरकार बनाएको इतिहास छ। सन् २०१७ मा जसिन्डा आर्डर्न नेतृत्वको लेबर सरकार न्युजिल्याण्ड फर्स्टको समर्थनमै बनेको थियो।
तर अहिलेको राजनीतिक माहोलमा न्युजिल्याण्ड फर्स्टले आफूलाई लेबरभन्दा फरक धारमा उभ्याउँदै “सत्ता भन्दा सिद्धान्त महत्वपूर्ण” भन्ने सन्देश दिन खोजिरहेको विश्लेषण गरिएको छ।


