न्युजिल्याण्डमा डिजिटल ड्राइभर लाइसेन्स र वारन्ट अफ फिटनेस बनाउने तयारी तीव्र

224 Shares

न्युजिल्याण्डमा अब ड्राइभर लाइसेन्स, गाडीको वारन्ट अफ फिटनेस (WoF) र रजिस्ट्रेशनलाई डिजिटल बनाउने तयारी तीव्र भएको छ। संसदबाट सम्बन्धित कानुन पारित भएपछि अब मोटर चालकहरूले प्लास्टिक कार्डको सट्टा मोबाइल फोनमार्फत आफ्नो लाइसेन्स देखाउन सक्ने भएका छन्।

NZTA ले अष्ट्रेलियाका यातायात निकायहरूसँग मिलेर डिजिटल प्रणाली विकास गरिरहेको जनाएको छ। सार्वजनिक परामर्श प्रक्रिया यसै वर्षको दोस्रो भागमा सुरु हुने अपेक्षा गरिएको छ भने प्रणाली वर्षको अन्त्यसम्म लागू हुन सक्ने बताइएको छ।

डिजिटल लाइसेन्स प्रयोगकर्ताको मोबाइल डिभाइसमा सुरक्षित रूपमा राखिनेछ र न्युजिल्याण्डको डिजिटल आइडेन्टिटी फ्रेमवर्कसँग मिलाएर सञ्चालन गरिनेछ।

सरकारले यसलाई सरकारी तथा निजी सेवामा सजिलो पहुँचका लागि महत्वपूर्ण कदमको रूपमा लिएको छ। भविष्यमा यी डिजिटल कागजातहरू Govt.nz एपमा राख्न सकिने बताइएको छ।

हाल NZTA एपमा लाइसेन्स विवरण हेर्न सकिए पनि त्यो कानुनी रूपमा प्लास्टिक कार्डको विकल्प भने होइन। नयाँ कानुन लागू भएपछि भने मोबाइलमै रहेको डिजिटल लाइसेन्स आधिकारिक रूपमा मान्य हुनेछ।

यसैगरी, गाडीको सिसामा टाँस्नुपर्ने WoF र रजिस्ट्रेशन स्टिकरको झन्झट पनि हट्ने भएको छ। सरकारले कागजी प्रणाली हटाएर डिजिटल विकल्प लागू गर्ने तयारी गरेको हो।

हाल WoF वा रजिस्ट्रेशन नभएको अवस्थामा २०० डलरसम्म जरिवाना लाग्ने व्यवस्था छ भने व्यावसायिक सवारी साधनको Certificate of Fitness नभए ६०० डलरसम्म जरिवाना हुन सक्छ। नयाँ डिजिटल प्रणालीपछि प्रहरीलाई आवश्यक विवरण अनलाइनमार्फत सजिलै उपलब्ध हुनेछ।

सम्बन्धित समाचार

सबै