नेपालमा आज गणतन्त्र दिवस मनाईदैँ, प्रधानमन्त्रीले सम्बोधन नगर्ने – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा आज गणतन्त्र दिवस मनाईदैँ, प्रधानमन्त्रीले सम्बोधन नगर्ने

   May 29, 2026  

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइने गरिन्छ ।

दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ भने काठमाडौंस्थित सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री बालेन्द्र शाहले भने सम्बोधन नगर्ने भएका छन् ।

वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

वि.सं. २०६२ साल मङ्सिरमा भएको उक्त १२ बुँदे समझदारीपछि तीन ध्रुवमा विभाजित राजनीतिक शक्ति दुई ध्रुवमा केन्द्रित भए र जनआन्दोलनले थप गति लियो । वि.सं. २०६२ फागुनदेखि सुरु भएको आन्दोलन चैतमा थप सशक्त बन्दै नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिएका थिए ।

अन्ततः आन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह संसद् पुनःस्थापना गर्न बाध्य भए । त्यसपछि वि.सं. २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारका अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो ।

उक्त संसद्ले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्तावसमेत पारित गरेको थियो । यही प्रक्रियाअन्तर्गत वि.सं. २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । त्यसपछि २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई औपचारिक रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो ।