न्युजिल्याण्डमा भव्य रूपमा मनाइयो एभरेस्ट डे – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा भव्य रूपमा मनाइयो एभरेस्ट डे

   May 31, 2026  

सगरमाथा आरोहणको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्दै न्युजिल्याण्डका विभिन्न सहरमा एभरेस्ट डे मनाइएको छ।

सन् १९५३ मे २९ मा न्युजिल्याण्डका पर्वतारोही सर एडमन्ड हिलारी र नेपाली पर्वतारोही तेन्जिङ नोर्गे ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। उक्त ऐतिहासिक उपलब्धिको सम्मानमा ह्यामिल्टन र इनभरकार्गिलमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा एक हजारभन्दा बढी नेपाली तथा स्थानीय समुदायका सदस्यहरूको सहभागिता रहेको आयोजकहरूले बताएका छन्। ह्यामिल्टनस्थित ह्यामिल्टन गार्डेन्समा ७ सयभन्दा बढी र इनभरकार्गिलस्थित ह्यान्सेन हलमा करिब ३ सय जना सहभागी भएका थिए।

नेपाल न्युजिल्याण्ड वाइकाटो फ्रेन्डसिप सोसाइटी र साउथल्यान्ड नेपाली समाजको सह-आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथि, सांसद, मन्त्री तथा सामुदायिक अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत सगरमाथा आरोहणको ऐतिहासिक उपलब्धि, नेपाल–न्युजिल्याण्ड मित्रता तथा नेपाली समुदायको योगदानलाई सम्मान गरिएको आयोजकहरूले बताएका छन्।