आज अष्ट्रेलिया जाँदै प्रधानमन्त्री लक्सन, अल्बानिजसँग उच्चस्तरीय भेटवार्ता हुने – New Zealand News Nepal (NZ News Nepal)

आज अष्ट्रेलिया जाँदै प्रधानमन्त्री लक्सन, अल्बानिजसँग उच्चस्तरीय भेटवार्ता हुने

   June 5, 2026  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन आज अष्ट्रेलिया प्रस्थान गर्दैछन्। उनी वार्षिक अष्ट्रेलिया–न्युजिल्याण्ड नेतास्तरीय बैठकमा सहभागी हुनुका साथै विभिन्न उच्चस्तरीय द्विपक्षीय तथा व्यापार केन्द्रित कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री लक्सनले अष्ट्रेलिया न्युजिल्याण्डको एकमात्र औपचारिक सुरक्षा साझेदार, सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार तथा हजारौं किवीहरूको दोस्रो घर भएको बताएका छन्।

उनले क्वीन्सल्याण्डमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटवार्ता गर्दै दुवै देशबीचको आर्थिक सहकार्य, व्यापार विस्तार, लगानी प्रवर्द्धन तथा स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका विषयमा छलफल गर्नेछन्।

भ्रमणका क्रममा अष्ट्रेलिया–न्युजिल्याण्ड लिडरसिप फोरममार्फत दुवै देशका प्रमुख व्यवसायीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। यस अवसरमा ट्रान्स–टास्मान व्यापारलाई थप सुदृढ बनाउने तथा नवप्रवर्तन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ।

वार्षिक नेतास्तरीय बैठकअघि प्रधानमन्त्री लक्सनले क्वीन्सल्याण्डका प्रिमियर डेभिड क्रिसाफुल्ली तथा ब्रिस्बेन २०३२ ओलम्पिक आयोजक समितिका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन्। ब्रिस्बेन २०३२ ओलम्पिक तथा पारालिम्पिक खेलकुदका अवसरहरूमा न्युजिल्याण्डका व्यवसायहरूको सहभागिता बढाउने विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री लक्सन शनिबार न्युजिल्याण्ड फर्किने कार्यक्रम रहेको छ।