अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जबर्जस्ती श्रम (Forced Labour) प्रयोग गरेर उत्पादन गरिएका वस्तुहरूको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै न्युजिल्याण्डसहित ६० देशमाथि थप १२.५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव अघि सारेको छ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (USTR) ले न्युजिल्याण्डसहित ५४ देशले जबर्जस्ती श्रमबाट उत्पादन गरिएका वस्तुहरूको आयातमा प्रभावकारी प्रतिबन्ध लगाउन नसकेको जनाएको छ। यसले अमेरिकी व्यापारलाई असर पुर्याएको दाबी गर्दै ती देशबाट आयात हुने वस्तुमा थप १२.५ प्रतिशत शुल्क लगाउने प्रस्ताव गरिएको हो।
यो सूचीमा न्युजिल्याण्डसँगै अष्ट्रेलिया, बेलायत, भारत, चीन, रुस र सिंगापुर लगायतका देशहरू पनि रहेका छन्।
हाल न्युजिल्याण्डका अधिकांश निर्यातित वस्तुहरूमा अमेरिकाले १० प्रतिशतको सार्वभौमिक शुल्क लगाइरहेको छ। नयाँ प्रस्ताव कार्यान्वयन भएमा न्युजिल्याण्डका उत्पादनहरूमा १२.५ प्रतिशत शुल्क लाग्नेछ, जसले हालको १० प्रतिशत शुल्कलाई प्रतिस्थापन गर्ने बताइएको छ।
न्युजिल्याण्डका व्यापार मन्त्री टोड म्याक्लेले अमेरिकाको प्रस्तावप्रति असहमति जनाउँदै न्युजिल्याण्डलाई जबर्जस्ती श्रमसँग जोड्ने कुनै आधार नभएको बताए।
“न्युजिल्याण्ड कुनै पनि हिसाबले जबर्जस्ती श्रममा संलग्न देश होइन। यस्तो आरोपलाई म दृढतापूर्वक अस्वीकार गर्छु,” म्याक्लेले भने।
उनका अनुसार शुल्कले अमेरिकी उपभोक्ताको लागत बढाउनेछ र अन्तर्राष्ट्रिय व्यापारलाई समेत नकारात्मक असर पार्नेछ। यद्यपि यस वर्ष न्युजिल्याण्डले अमेरिकामा निर्यात गरेको वस्तुको मूल्यगत निर्यात गत वर्षको तुलनामा करिब ४ प्रतिशतले बढेको उनले जानकारी दिए।
न्युजिल्याण्ड इन्टरनेशनल बिजनेस फोरमकी कार्यकारी निर्देशक फेलिसिटी रोक्सबर्गले पनि न्युजिल्याण्डमा जबर्जस्ती श्रम रहेको दाबी पूर्ण रूपमा अस्वीकार गरिन्। उनका अनुसार यस्तो शुल्कले निर्यातकर्ताहरूका लागि अनिश्चितता र अतिरिक्त लागत सिर्जना गर्नेछ।
हालको प्रस्तावअनुसार न्युजिल्याण्डबाट अमेरिकामा निर्यात हुने गाईको मासु (Beef), किवीफ्रुट तथा काठजन्य उत्पादनहरू भने अतिरिक्त शुल्कबाट मुक्त रहने सम्भावना रहेको जनाइएको छ। तर भेडाको मासु (Lamb) निर्यातमा असर पर्न सक्ने अनुमान गरिएको छ।
न्युजिल्याण्ड बिफ + ल्याम्बकी राष्ट्रिय अध्यक्ष केट एक्ल्यान्डले गाईको मासु अतिरिक्त शुल्कबाट मुक्त रहने प्रस्तावप्रति राहत महसुस गरे पनि भेडाको मासुमा असर पर्ने भएकाले निराशा व्यक्त गरिन्।
यसैबीच, अमेरिकाले न्युजिल्याण्ड र अष्ट्रेलियाबाट आयात हुने भेडाको मासुबारे छुट्टै व्यापार अनुसन्धान पनि अघि बढाउन सक्ने संकेत दिएको छ।
अमेरिका न्युजिल्याण्डको प्रमुख निर्यात बजारमध्ये एक हो। विशेषगरी न्युजिल्याण्डको वाइन उद्योगले वार्षिक करिब ८० करोड अमेरिकी डलर बराबरको वाइन अमेरिका निर्यात गर्दै आएको छ। व्यापारिक अनिश्चितता बढ्दै गएपछि केही निर्यातकर्ताहरूले वैकल्पिक बजार खोज्न थालेको बताइएको छ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले प्रस्तावित शुल्कबारे आगामी जुलाई ७ मा सार्वजनिक सुनुवाइ गर्ने जनाएको छ। त्यसपछि मात्रै अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।



