नेपालमा पनि सुरु भयो उबर – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा पनि सुरु भयो उबर

   June 5, 2026  

विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ। यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा कम्पनीको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता उबरले प्रवेश गरेको पहिलो नयाँ बजारका रूपमा स्थापित भएको छ।

कम्पनीका अनुसार नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा सञ्चालनमा ल्याइएको छ। यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्रा अनुभव प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।

उबरका एसिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई तीव्र गतिमा डिजिटल रूपान्तरण भइरहेको, सहरी गतिशीलता विस्तार भइरहेको तथा पर्यटन क्षेत्रको उच्च सम्भावना बोकेको बजारका रूपमा वर्णन गरेका छन्। उनले नेपालको प्रवेशलाई उबरको विश्वव्यापी विस्तार यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उबरको आगमनलाई आधुनिक, डिजिटल तथा समावेशी यातायात प्रणाली निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताएका छन्। उनका अनुसार यसले सहरी यातायात व्यवस्थापन सुधार्नुका साथै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हाल उबर विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ। कम्पनीले नेपालमा स्मार्टफोन प्रयोगकर्ताको बढ्दो संख्या, सहरी यातायात सेवाप्रतिको बढ्दो माग तथा पर्यटन उद्योगको विस्तारलाई ध्यानमा राख्दै आफ्नो सेवा विस्तार गरेको जनाएको छ।