हरितालिका तीजको विशेष अवसर पारेर न्युजिल्याण्डका तीन प्रमुख सहरमा भव्य ‘तीज मेला २०२६’ आयोजना हुने भएको छ। आयोजक लाखे इभेन्ट्सका अनुसार सेप्टेम्बरमा अकल्याण्ड, वेलिङ्टन र क्राइस्टचर्चमा नेपाली समुदायलाई लक्षित गर्दै विशेष सांगीतिक प्रस्तुति सहितको तीज उत्सव आयोजना गरिनेछ।
कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी र गायक खेम सेन्चुरीले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। नेपाली लोक तथा आधुनिक गीत–संगीतमार्फत तीजको उल्लासलाई अझ विशेष बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
नेपाली समुदायको बाक्लो बसोबास रहेका तीनै सहरमा हुने तीज मेलाले विदेशमा रहेका नेपालीलाई आफ्नो संस्कृति, परम्परा र चाडपर्वसँग जोड्ने विश्वास लिइएको छ। कार्यक्रममा सांगीतिक मनोरञ्जनसँगै नेपाली संस्कृति झल्किने विभिन्न आकर्षणहरू पनि समावेश गरिने जनाइएको छ।
लाखे इभेन्ट्सको टुर व्यवस्थापनमा हुन लागेको तीज मेला २०२६ को मिति, स्थान तथा टिकट सम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।


