न्युजिल्याण्डको राजधानी वेलिङ्टनका दक्षिणी तथा पूर्वी क्षेत्रहरूमा शक्तिशाली समुद्री छालको जोखिम बढेपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था घोषणा गरेको छ।
वेलिङ्टनका मेयर एन्ड्र्यु लिटलले सोमबार साँझ दक्षिणी र पूर्वी वार्डहरूका लागि स्टेट अफ इमर्जेन्सी घोषणा गरेका हुन्। मौसमविद्हरूले आगामी केही दिनमा समुद्रमा ७ देखि ८ मिटर उचाइसम्मका विशाल छाल आउन सक्ने चेतावनी दिएका छन्।
मौसम विभागले केप टेराव्हिटीदेखि तुराकिराए हेड र त्यहाँदेखि माताइकोना सम्मका तटीय क्षेत्रका लागि भारी समुद्री छालको चेतावनी जारी गरेको छ। दक्षिणी दिशाबाट विकसित मौसम प्रणालीका कारण सोमबार साँझदेखि बुधबार बिहानसम्म कुक स्ट्रेट क्षेत्रमा तीव्र छालको प्रभाव रहने अनुमान गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुक स्ट्रेटमा सञ्चालन हुने सबै फेरी सेवाहरू रद्द गरिएको छ। प्रशासनले विशेष गरी दक्षिणी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
वेलिङ्टन सिटी काउन्सिलले जारी गरेको सूचनाअनुसार दक्षिणी तटीय क्षेत्रमा रहेका घरधनी तथा बाढीको जोखिममा रहेका व्यक्तिहरूलाई सोमबार राति नै अन्यत्र बस्न सिफारिस गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दा तथा उनीहरूका घरपालुवा जनावरहरूलाई मंगलबार बिहान ९ बजेसम्म सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
आश्रयको आवश्यकता पर्नेहरूका लागि वेलिङ्टन साउथ ब्याप्टिस्ट चर्चमा आपतकालीन सहायता केन्द्र स्थापना गरिएको छ।
वेलिङ्टन सिभिल डिफेन्सका प्रवक्ता ड्यान नीलीले मौसम सफा देखिए पनि समुद्र अत्यन्त खतरनाक हुन सक्ने भन्दै समुद्र, समुद्री किनारा तथा तटीय सडकहरूबाट टाढा रहन आग्रह गरेका छन्। उनका अनुसार सन् २०२० मा ५.५ मिटर उचाइका छालले वेलिङ्टनको दक्षिणी तटमा ठूलो क्षति पुर्याएको थियो भने यसपटक छालको उचाइ ८ मिटरसम्म पुग्न सक्ने भएकाले अझ ठूलो जोखिम हुन सक्छ।
अधिकारीहरूले विशेष गरी उच्च ज्वारभाटाको समयमा सडकहरूमा पानी पस्न सक्ने, फोहोर तथा ढुंगामाटो बगेर आउन सक्ने, सडक बन्द हुन सक्ने तथा सम्पत्तिमा क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।
प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सामग्रीसहितको ‘ग्र्याब ब्याग’ तयार राख्न, मूल्यवान सामान सुरक्षित स्थानमा सार्न, घरपालुवा जनावरलाई घरभित्र राख्न तथा आवश्यकता परे तुरुन्तै स्थानान्तरणका लागि तयार रहन आग्रह गरेको छ। साथै, सहयोग आवश्यक पर्न सक्ने छिमेकीहरूको अवस्थाबारे पनि जानकारी लिन अनुरोध गरिएको छ।


