लेबरको नीति: हप्ताभरको सार्वजनिक यातायात मात्र २० डलरमा, २० डलर पछि बाँकी यात्रा निःशुल्क

275 Shares

न्युजिल्याण्डको प्रमुख विपक्षी दल लेबर पार्टीले आगामी निर्वाचन जितेमा सार्वजनिक यातायातको साप्ताहिक भाडामा सीमा तोक्ने घोषणा गरेको छ। दलले बुधबार सार्वजनिक गरेको नयाँ नीतिअनुसार अकल्याण्ड, वेलिङ्टन र क्राइस्टचर्चमा यात्रुले एक सातामा अधिकतम २० डलर मात्र तिर्नुपर्नेछ भने देशका अन्य क्षेत्रहरूमा यो सीमा १० डलर रहनेछ।

लेबर पार्टीका अनुसार प्रस्तावित नीति लागू भएमा यात्रुले सार्वजनिक यातायात प्रयोग गर्दा एक साताभरमा अधिकतम २० डलर मात्र तिर्नुपर्नेछ। एकपटक २० डलरको सीमा पुगेपछि त्यस साताभित्र गरिने थप बस, रेल तथा समावेश गरिएका फेरी यात्राहरू निःशुल्क हुनेछन्। लेबरको दाबी छ कि यसले यात्रुहरूको खर्च घटाउनुका साथै सार्वजनिक यातायातको प्रयोगलाई समेत प्रत्साहन गर्नेछ।

लेबर नेता क्रिस हिप्किन्सले यो नीति जीवनयापनको बढ्दो खर्चबाट राहत दिने उद्देश्यले ल्याइएको बताएका छन्। उनका अनुसार यसले दैनिक आवतजावत सस्तो बनाउने, परिवारको खर्च घटाउने र सार्वजनिक यातायातलाई सबैका लागि पहुँचयोग्य बनाउनेछ।

यो योजना १ जुलाई २०२७ देखि लागू गर्ने प्रस्ताव गरिएको छ। मुख्य सहरहरूमा सार्वजनिक यातायात सेवा बढी र सञ्चालन खर्च उच्च भएकाले त्यहाँको साप्ताहिक सीमा २० डलर निर्धारण गरिएको लेबरले जनाएको छ।

दलका यातायात प्रवक्ता ट्याङ्गी उटिकेरेले सार्वजनिक यातायात कुनै विलासिताको सेवा नभई सबै नागरिकको पहुँचमा हुनुपर्ने बताए। उनका अनुसार बस, रेल र फेरीको प्रयोग बढेमा परिवारको यातायात खर्च घट्ने, सडक जाम कम हुने तथा सार्वजनिक यातायात सञ्जाल थप सुदृढ बन्नेछ।

लेबरका अनुसार यो योजनामा वार्षिक करिब ६५ मिलियन डलर खर्च हुने अनुमान गरिएको छ, जुन राष्ट्रिय स्थल यातायात कोषको करिब १ प्रतिशत बराबर हो।

यद्यपि सबै सेवाहरू यस योजनामा समावेश हुने छैनन्। इन्टरसिटी बस सेवा, क्यापिटल कनेक्सन, ते हुइया र मेनल्याण्डर रेल सेवा, वाइहेका फेरी तथा मार्लबरोका नगदमार्फत मात्र सञ्चालन हुने बस सेवाहरू भाडा सीमाको दायराभन्दा बाहिर रहनेछन्।

सम्बन्धित समाचार

सबै