फिफा विश्वकप २०२६ को पहिलो खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ ।
मेक्सिकोको एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को सहज जित निकालेको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एकएक गोल गरे ।
खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो । विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो ।
६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।
दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे । उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । सोही समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ ।


