युवा किसानलाई न्युजिल्याण्ड सरकारको साथ, ६० युवा किसान क्लबलाई अनुदान – New Zealand News Nepal (NZ News Nepal)

युवा किसानलाई न्युजिल्याण्ड सरकारको साथ, ६० युवा किसान क्लबलाई अनुदान

   June 12, 2026  

न्युजिल्याण्ड सरकारले युवा किसान, कृषक तथा ग्रामीण क्षेत्रका भावी नेतृत्वकर्तालाई प्रोत्साहन गर्न एनजेड यङ फार्मर्स लाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

कृषिमन्त्री टड म्याक्ले ले ग्रामीण समुदायमा एनजेड यङ फार्मर्सले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै सरकार त्यसको अभियानलाई थप बलियो बनाउन प्रतिबद्ध रहेको बताएका छन्।

सरकारले देशभर रहेका ६० वटा युवा किसान क्लबलाई एकपटकका लागि १ हजार डलरका दरले कुल ६० हजार डलर अनुदान उपलब्ध गराउने घोषणा गरेको हो।

मन्त्री म्याक्लेका अनुसार उक्त रकमले क्लब सञ्चालन गर्ने स्वयंसेवी समितिहरूलाई संगठन व्यवस्थापन, सदस्यता विस्तार तथा विभिन्न कार्यक्रम आयोजना गर्न सहयोग पुग्नेछ।

“यी समितिहरू क्लबको सफलताका आधार हुन्। उनीहरूले नयाँ सदस्य आकर्षित गर्न, प्रायोजन जुटाउन तथा ग्रामीण क्षेत्रका युवालाई सहयोग गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्,” उनले भने।

लामो इतिहास बोकेको गैरनाफामूलक संस्था एनजेड यङ फार्मर्सले ग्रामीण क्षेत्रका युवालाई जोड्ने, क्षमता अभिवृद्धि गर्ने र नेतृत्व विकासमा योगदान पुर्‍याउँदै आएको छ। यसका क्लबहरूले युवाहरूलाई नेतृत्व क्षमता विकास गर्ने, समान सोच भएका व्यक्तिसँग सम्बन्ध विस्तार गर्ने तथा दीर्घकालीन मित्रता कायम गर्ने अवसर प्रदान गर्छन्।

मन्त्री म्याक्लेले एनजेड यङ फार्मर्स न्युजिल्याण्डको ग्रामीण जीवनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै संस्थाले आगामी वर्ष आफ्नो स्थापना भएको १०० वर्ष पूरा गर्न लागेको बताए। उनका अनुसार सरकारी सहयोगले शतवार्षिकी अवसरमा आयोजना हुने स्थानीय कार्यक्रमहरूलाई पनि सहयोग पुग्नेछ।

यसैबीच सरकारले ग्रामीण क्षेत्रका युवाको समग्र कल्याणका लागि सञ्चालन गरिएको रुरल वेलबिइङ फण्ड मार्फत पनि एनजेड यङ फार्मर्सलाई थप सहयोग प्रदान गरेको छ।

उक्त कोषअन्तर्गत अनुदान प्राप्त गर्ने १८ सामुदायिक संस्थामध्ये एनजेड यङ फार्मर्स पनि एक हो। संस्थाले शारीरिक, मानसिक तथा आर्थिक स्वास्थ्यसँग सम्बन्धित नयाँ कार्यक्रमहरू विस्तार गर्न ५ लाख ८५ हजार डलर प्राप्त गर्ने भएको छ।

मन्त्री म्याक्लेले प्राथमिक उद्योगहरू न्युजिल्याण्डको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै रोजगारी सिर्जना र स्थानीय समुदायको विकासका लागि सरकार कृषि क्षेत्रको भविष्य निर्माणमा केन्द्रित रहेको बताए।