वेलिङ्टन विमानस्थलमा शुक्रबार साँझ आगलागी भएपछि मुख्य टर्मिनल भवन र दक्षिणपश्चिम पियर क्षेत्र खाली गराइएको छ। आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।
विमानस्थल प्रशासनका अनुसार धुवाँको अलार्म बजेपछि सुरक्षाका लागि यात्रु र कर्मचारीलाई तत्काल बाहिर निकालिएको थियो। घटनामा कोही पनि घाइते नभएको बताइएको छ।
वेलिङ्टन विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “धुवाँको अलार्म सक्रिय भएपछि दक्षिणपश्चिम पियर र मुख्य टर्मिनल भवन खाली गराइएको हो। फायर एण्ड इमर्जेन्सी न्युजिल्याण्ड (एफईएनजेड) र विमानस्थलको अग्नि नियन्त्रण सेवा घटनास्थलमा खटिएका छन्।”
आगलागी नियन्त्रणका लागि थप उच्च क्षमताको अग्नि नियन्त्रण सवारी (एरियल एप्लायन्स) समेत मगाइएको जनाइएको छ। आगलागीका कारण वेलिङ्टनतर्फ आउने केही उडानहरू अस्थायी रूपमा अन्य विमानस्थलतर्फ मोडिएका थिए।
न्युजिल्याण्ड प्रहरीका प्रवक्ताले यात्रु तथा अन्य व्यक्तिहरूलाई विमानस्थल भवनबाट सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गरिरहेको बताएका छन्।
प्रारम्भिक जानकारीमा कुनै उपकरण वा मेसिनरीमा आगलागी भएको हुन सक्ने उल्लेख भए पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन। आगलागीको कारणबारे फायर एण्ड इमर्जेन्सी न्युजिल्याण्डले अनुसन्धान गर्ने जनाएको छ।
विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी अद्यावधिक जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेको छ।


