न्युजिल्याण्डमा शुक्रबार मातारिकी डे मनाईदैँ छ । यो दिन माओरी समुदायको नयाँ वर्ष सुरु हुन्छ । यसअघि यो दिवसको महत्व रहेतापनि औपचारिक रुपमा भने सन् २०२२ बाट सरकारले सार्वजनिक बिदा दिने तयारी गरेको हो । यस वर्षको बिदा पाचौ बिदा हो ।
हरेक वर्ष मातारिकी अलग अलग दिन मनाइने छ । यो वर्ष भने जुलाई १० शुक्रबारका दिन न्युजिल्याण्डमा यो दिन मनाईदै छ । मातारिकी सार्वजनिक बिदा सधैं शुक्रबार नै पर्ने भए पनि यसको मिति हरेक वर्ष फरक–फरक हुन्छ। यसको कारण माओरी समुदायले ग्रेगोरियन पात्रोभन्दा ‘मारामाताका’ (चन्द्र पात्रो) लाई अनुसरण गर्नु हो। मातारिकी तारागुच्छको उदय र ‘ताङारोआ’ चन्द्र चरणसँग यसको समय निर्धारण गरिने भएकाले यो प्रायः जुनको अन्तिम साता र जुलाईको मध्यबीच पर्छ।
न्युजिल्याण्डवासीलाई यात्रा योजना बनाउन तथा जाडो मौसमका विभिन्न उत्सवहरू सहज रूपमा मनाउन सहयोग पुर्याउने उद्देश्यले सरकारले कानुनी व्यवस्था गरेको छ। त्यसअनुसार मातारिकीलाई सम्बन्धित चन्द्र चरण नजिकको शुक्रबार सार्वजनिक बिदाका रूपमा मनाइनेछ, जसले हरेक वर्ष लगातार तीन दिनको लामो सप्ताहन्त (Long Weekend) सुनिश्चित गर्दछ।
जाडो याममा पहिलो ताराको समुह देखिने दिन माओरी नयाँ वर्ष मनाईने गरिन्छ । यो दिन भुत, वर्तमान र भविष्यको ठुलो महत्व हुन्छ । यस दिनमा बिगतमा गुमाएका आफ्ना आफन्तको सम्झना गरिन्छ । त्यस्तै वर्तमानमा एक आपसमा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाईन्छ भने भविष्यमा यो गर्छु भनेर संकल्प गर्ने गरिन्छ । माओरी नयाँ वर्ष मे को अन्तिम देखि जुलाईको सुरुवात भित्र पर्ने गर्दछ ।


