अकल्याण्डमा संगठित आपराधिक समूहहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा करिब ५०० गाँजाका बोट बरामद गरिएको छ।
मंगलबार प्रहरीले हिल्सबरो, न्यु विन्डसर, माउन्ट रोस्किल र माउन्ट अल्बर्ट क्षेत्रका चार वटा घरमा खोजतलासका लागि वारेन्ट कार्यान्वयन गरेको थियो। यो कारबाही ‘अपरेशन ग्रीन’ अन्तर्गत गरिएको हो।
अकल्याण्ड सिटी वेस्ट प्रहरीका कार्यवाहक वरिष्ठ सार्जेन्ट कोरी फोस्टरका अनुसार उक्त अभियान क्षेत्रभित्र भइरहेको संगठित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने र समुदायमा त्यसको असर रोक्ने उद्देश्यले सञ्चालन गरिएको हो।
प्रहरीले खोजतलासका क्रममा अत्याधुनिक इनडोर (घरभित्र) गाँजा खेती गर्ने संरचनाहरू फेला पारेर भत्काएको तथा विभिन्न आकारका करिब ४८६ वटा गाँजाका बोट र त्यससँग सम्बन्धित उपकरणहरू बरामद गरेको जनाएको छ।
फोस्टरका अनुसार ती गाँजाका बोटहरू बरामद गरिएकाले तिनको बिक्रीबाट प्राप्त हुन सक्ने रकम संगठित आपराधिक गतिविधिमा प्रयोग हुनबाट रोकिएको छ।
यस घटनामा हालसम्म कसैलाई पक्राउ नगरिए पनि अभियानको नतिजाले स्थानीय समुदायमा केही हदसम्म सुरक्षा र विश्वासको भावना बढाउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले आफ्नो समुदायमा भइरहेको अवैध गतिविधिबारे जानकारी उपलब्ध गराउने सर्वसाधारणप्रति धन्यवाद व्यक्त गर्दै यस्ता गतिविधिबारे सूचना दिन निरन्तर आग्रह गरेको छ।
यस्तो जानकारी प्रहरीलाई अनलाइन माध्यमबाट वा १०५ नम्बरमा सम्पर्क गरेर दिन सकिनेछ। साथै, गोप्य रूपमा सूचना दिन चाहनेहरूले क्राइम स्टपर्स ०८०० ५५५ १११ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।


