न्युजिल्याण्डको गिसबर्न क्षेत्रमा शुक्रबार साँझ भएको एक सवारी दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि गिसबोर्न अस्पताल लगिएको छ।
सेन्ट जोनका अनुसार शुक्रबार साँझ ५:१५ बजे पाटुताहीस्थित व्हारेकोपाए रोडमा भएको उक्त घटनामा ठूलो उद्धार तथा स्वास्थ्य सेवा परिचालन गरिएको थियो।
घटनास्थलमा पाँच वटा एम्बुलेन्स, दुई वटा र्यापिड रेस्पोन्स युनिट, दुई जना अपरेसन म्यानेजर, तीन वटा हेलिकोप्टर तथा मेजर इन्सिडेन्ट सपोर्ट टोलीसहित कुल १३ वटा आपतकालीन सवारी साधन परिचालन गरिएको सेन्ट जोनले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम तथा अन्य तीन जनाको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले दुर्घटनापछि उक्त सडक बन्द गरिएको जनाएको छ। साथै, चालकहरूलाई सो क्षेत्रबाट यात्रा नगर्न र सम्भावित ढिलाइका लागि तयार रहन आग्रह गरिएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


