न्युजिल्याण्डको नेशनल पार्टीको वार्षिक साधारणसभा लोअर हटमा सुरु हुँदैछ। सभामा अर्थतन्त्र मुख्य एजेन्डाका रूपमा रहनेछ भने आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ नीतिगत घोषणा हुने अपेक्षा गरिएको छ।
शनिबारको कार्यक्रममा पार्टी नेता क्रिस्टोफर लक्सन र पार्टी अध्यक्ष सिल्भिया वुडको उद्घाटन सम्बोधन रहनेछ। त्यसपछि अर्थ प्रवक्ता निकोला विलिसले न्युजिल्याण्डको अर्थतन्त्रबारे मुख्य सम्बोधन गर्नेछिन्।
विलिसले क्रिस बिशप, लुइस अप्स्टन र टोड म्याक्लेसँग मिलेर रोजगारी र आम्दानीसम्बन्धी छलफल सत्रको समेत नेतृत्व गर्ने कार्यक्रम छ। यस्तै, म्याट डुसी, सिमियोन ब्राउन, एरिका स्ट्यानफोर्ड र पेनी सिमन्ड्सले स्वास्थ्य तथा शिक्षासम्बन्धी छलफलमा सहभागिता जनाउनेछन्।
आइतबार नेशनल पार्टीका नेता क्रिस्टोफर लक्सनले आगामी निर्वाचनलाई केन्द्रित गर्दै नयाँ नीति सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। आरएनजेडका अनुसार उक्त नीति अर्थतन्त्रसँग सम्बन्धित हुने बुझिएको छ।
हाल देशमा देखिएको इन्धन संकट र आर्थिक चुनौती AGM का प्रमुख विषय बन्ने भए पनि हालै सार्वजनिक भएको आर्थिक वृद्धिदर (GDP) का तथ्यांकले लक्सनलाई आशावादी बनाएको छ।
लक्सनले अर्थतन्त्रमा इन्धन संकटअघि नै सकारात्मक गति देखिएको उल्लेख गर्दै संकटका कारण मुद्रास्फीति र आर्थिक वृद्धिमा केही प्रभाव पर्न सक्ने भए पनि सरकार जिम्मेवार आर्थिक व्यवस्थापनमा केन्द्रित रहेको बताएका छन्।
उनले आगामी चार वर्षमा न्युजिल्याण्डको अर्थतन्त्र औसत २.७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको उल्लेख गर्दै यो दर युरोपेली संघ, अस्ट्रेलिया, जापान लगायतका धेरै विकसित अर्थतन्त्रभन्दा उच्च रहेको दाबी गरे।
आइतबार चुनावी अभियान प्रमुख सिमियोन ब्राउनले पनि प्रतिनिधिहरूलाई सम्बोधन गर्नेछन्। त्यसपछि पार्टीका उम्मेदवारहरूको औपचारिक परिचय कार्यक्रम सञ्चालन हुनेछ।


