न्युजिल्याण्डविरुद्ध इजिप्टको सानदार जित – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डविरुद्ध इजिप्टको सानदार जित

   June 22, 2026  

फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्युजिल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। एक गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टले विश्वकप इतिहासकै पहिलो जित हात पारेको हो।

भ्यान्कुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले सुरुआती दबाब बनाउँदै १५औँ मिनेटमा अग्रता लिएको थियो। फिन सुरम्यानले हेडमार्फत गोल गर्दै न्युजिल्याण्डलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफभर इजिप्टले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन र न्युजिल्याण्डले अग्रता कायम राख्दै विश्राममा गएको थियो।

दोस्रो हाफमा भने इजिप्टले खेलको स्वरूप नै परिवर्तन गर्‍यो। ५८औँ मिनेटमा मुस्ताफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि इजिप्टले लगातार आक्रमण जारी राख्यो।

खेलको ६७औँ मिनेटमा कप्तान मोहम्मद सलाहले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरेपछि इजिप्ट २–१ ले अगाडि बढ्यो। अग्रता लिएपछि थप आत्मविश्वासका साथ खेलेको इजिप्टले ८२औँ मिनेटमा अर्को गोल थप्यो। मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी ट्रेजेगुएले गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे।

३–१ को जितसँगै इजिप्टले फिफा विश्वकप इतिहासमा पहिलो पटक जित हासिल गरेको छ। साथै विश्वकपको एकै खेलमा तीन गोल गर्ने उपलब्धि पनि इजिप्टले पहिलोपटक प्राप्त गरेको हो।

यस जितपछि समूह ‘जी’ मा इजिप्ट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्याण्ड भने १ अंकमा सीमित हुँदै चौथो स्थानमा झरेको छ। समूहका अन्य टोली इरान र बेल्जियमको समान २–२ अंक रहेको छ।

इजिप्टको यो जितले समूह ‘जी’ को प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ भने न्युजिल्याण्डमाथि नकआउट चरणमा पुग्ने सम्भावना जोगाइराख्न आगामी खेलमा जित निकाल्नुपर्ने दबाब बढेको छ।